×

 

काठमाडौं। जापानमा बसेर सामाजिक सञ्जालमार्फत उच्छृंखल अभिव्यक्ति दिएपछि भ्लगर रतन कार्कीविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको छ ।युट्युब तथा सामाजिक सञ्जाल, टिकटक, फेसबुक, इन्सटाग्राममा सक्रिय कार्कीको अभिव्यक्तिले अराजकता फैलाएको भन्दै साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको हो ।

दशरथ रंगशालामा साफ वुमन्स च्याम्पिनसिपको फाइनल खेल भइरहेका बेला युट्युब लाइभमा उनले ‘प्रधानमन्त्रीलाई मार्नुपर्ने’ आशयको अभिव्‍यक्ति दिएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत खेल भएको दिन उनले रंगशालामा ‘मार्न सकिने’ अभिव्यक्ति दिएको प्रहरीको भनाइ छ ।

उक्त अभिव्यक्ति उछृङ्खल भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको हो। ‘उहाँको अभिव्यक्तिविरुद्ध हामीले अनुसन्धान अघि बढाएका छौं । यस्ता अभिव्यक्ति दिनेलाई इन्टरपोलको सहयोगमार्फत नेपाल ल्याएर कारबाही गर्न सक्छौं’, साइबर ब्यूरोका एक अधिकारीले भने।साइबर ब्यूरोले अनुसन्धान अघि बढाएपछि सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गर्दै आफ्नो अभिव्यक्तिप्रति कार्कीले माफी मागेका छन् ।

आफ्नो इन्टेन्सन त्यस्तो नभए पनि बोल्ने बेलामा जिब्रो चिप्लिएर मार्छु भन्ने शब्द प्रयोग भएको भन्दै उनले स्ष्टीकरण दिएका छन् । उक्त शब्द प्रति माफीसमेत माग्दै उक्त भिडिओसमेत आफूले हटाइसकेको भ्लगर कार्कीले उल्लेख गरेका छन् ।

नवलपुरको गैँडाकोट घर भएका अहिले विद्यार्थी भिसामा जापानमा छन् । उनी जापानमै रहे पनि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएर कारबाहीको प्रक्रिया समेत अघि बढाउन सुरु गरेको छ । विदेशमा बसेरमा विद्युतीय माध्यममार्फत साइबर अपराध गर्नेविरुद्ध साइबर ब्यूरोले कारबाही गर्दै आएको छ । कार्की मात्रै होइन यसअघि पनि यस्तै घटनामा अन्य व्यक्तिहरुलाई विदेशबाट नेपाल ल्याएर कारबाही गरेको तथ्यांक साइबर ब्यूरोसँग छ ।

साइबर ब्यूरोको तथ्यांक अनुसार विदेशमा पुगेर अपराध गर्ने, विशेषतः साइबर अपराध गर्ने नेपालीको संख्या उत्तिकै छ । आर्थिक वर्ष २०८०र८१ मा विदेशमा बसेर साइबर अपराध गरेको आरोपमा ७ नेपाली विरुद्ध नेपालमा मुद्दा दायर भएको छ । चालु आर्थिक वर्षको अहिलेसम्म दुई जना विरुद्ध मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको छ ।

 

तपाईको प्रतिक्रिया