×

पोखरा- सहकारी ठगी अभियोगमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसँग जिल्ला अदालत बागलुङले बयान लिएको छ।सोमबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासमा मेयर नेपालीले सहकारी ठगीका विषयमा बयान दिएका हुन्।मेयर नेपालीले पोखरा र बागलुङमा छुट्टाछुट्टै इमेज बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेका थिए।

यी दुई जिल्लामा सञ्चालित उक्त सहकारीबाट सर्वसाधारण बचतकर्ताको २ अर्ब बढी अपचलन भएको आरोप छ। मेयर नेपालीले बयानमा सहकारीको बचतकर्ताको रकम निजी सम्पत्ति बेचेर फिर्ता गर्ने बताएका छन्।‘सहकारीको बचत रकम आफ्नो सम्पत्ति बेचेर फिर्ता गर्छु भनेर बयान दिएका छन्,’ बयानमा उपस्थित एक अधिकारीले भने।

यसअघि पनि नेपालीले बचतकर्तासँग सम्पर्क गरेर आफ्नो निजी सम्पत्ति बेचेर बचत फिर्ता गर्ने बताएका थिए। सहकारी अपचलन सम्बन्धमा गठन भएको संसदीय छानविन समितिमा पनि उनले लिखित पत्र पठाएर निजी सम्पत्ति बेचेर बचत फिर्ता गर्ने उल्लेख गरेका थिए।

भारतको दिल्लीमा पक्राउ परेका नेपालीलाई आइतबार बागलुङ लगिएको थियो। बयान सकिएसँगै भोलि उनलाई कारागार पठाउने कि तारेखमा रिहा गर्ने भनेर थुनछेक बहस हुने बागलुङका जिल्ला सरकारी वकिल पूर्णप्रसाद शर्माले बताए।

तपाईको प्रतिक्रिया