काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा का सभापति रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् ।
धनगढीमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले रास्वपा र त्यसका सभापति लामिछानेले अनुसन्धानमा निःशर्त सहयोग गर्नुपर्ने बताए । ‘अनुसन्धानलाई नै रोक्ने गरी जुन प्रकारका गतिविधि भइरहेको छ, यो कानुनी राज्यमाथिको उपहास हो,’ एमाले महासचिव पोखरेलले भने, ‘कुनै पनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नुपर्छ ।’
उनले अगाडि भने, ‘जनताका बीचमा सुशासनका ठूला कुरा गरेर दल खडा गर्ने, आफूमाथि उठेका प्रश्नको सन्दर्भमा अनुसन्धान प्रक्रियामा जान नमान्ने कुनै अर्थमा उचित होइन ।’
अभियोग कति गम्भीर छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले समेत बुझ्नुपर्ने उनले बताए । ‘एउटा कम्पनी खडा गरेर टेलिभिजन सञ्चालनका लागि प्राप्त गरेको समग्र पैसा (झण्डै ६५ करोड) सहकारीमार्फत प्राप्त गरेको र सहकारीले कम्पनीले लगानी गर्न नमिल्ने कानुन रहेको यो पक्षलाई बुझ्नुपर्छ’ महासचिव पोखरेलले भने, ‘कानुन विपरीत सहकारीको पैसा ल्याएर टेलिभिजन सञ्चालन गर्ने अत्यन्त हानिकारक छ ।’



उज्यालो खबर




