
नेपालका लागि एप्पलको आधिकारिक विक्रेता जेनेरेसन नेक्स्टका अनुसार आइफोन १६ सिरिज नेपालमा १३ -२८ असोजभित्र सार्वजनिक हुनेछ ।
काठमाडौं । एप्पल कम्पनीले ‘आइफोन १६’ सिरिज सार्वजनिक गरेसँगै नेपालमा थप चासो बढेको छ ।९ सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा सार्वजनिक भएको आइफोन १६ सिरिज नेपालमा भने असोज १३ देखि २८ भित्र सार्वजनिक हुने नेपालका लागि एप्पलको आधिकारिक विक्रेता जेनेरेसन नेक्स्टका निर्देशक निकिता भिमसरियाले जानकारी दिइन् ।
‘हामीले आइफोन १६ सिरिज नेपालमा १३ असोजदेखि २८ असोजभित्र सार्वजनिक गर्ने तयारी गरेका छौं,’ उनले भनिन् ।उनका अनुसार नेपालमा आइफोन १६ सिरिजसहित एप्पल वाच सिरिज १०, एप्पल वाच अल्ट्रा २, इयरपड्स ४, इयरपड्स म्याक्स समेत सार्वजनिक गरिने गरी कार्यक्रम तयारी भइरहेको छ ।
यो सिरिज अन्तर्गत कुल चार मोडेल ९आईफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रोम्याक्स० रहनेछन्, जसको मूल्य मोडेल र क्षमता अनुसार फरक–फरक हुने उनले बताइन् ।
भिमसरियाका अनुसार आइफोन १६ सिरिजका मोबाइल फोनको मूल्य १ लाख ५० हजारदेखि ३ लाख १० हजार रुपैयाँसम्म हुन सक्छन् ।सन् २००७ मा सानफ्रान्सिस्कोमा आयोजित म्याकवर्ल्ड एक्सपोमा एप्पलका मालिक स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेका थिए ।

आइफोन १६ मा खास के छ ?
आइफोन १६ का विभिन्न विशेषता छन् । तीमध्ये एक हो आर्टिफिसियल इन्टिलिजेन्स (एआई) ।एप्पल कम्पनी प्रमुख टिम कुकले सार्वजनिक समारोहमा एप्पल इन्टिलिजेन्स र यसको उत्कृष्ट क्षमतासाथ नयाँ डिजाइनमा आइफोनलाई ल्याएको बताए ।
उनका अनुसार गत जुनमा सार्वजनिक गरिएको एप्पल इन्टिलिजेन्सभन्दा शक्तिशाली र नयाँ पर्सनलन इन्टिलिजेन्स सिस्टम धेरै तरिकाले अलग छ ।

आइफोन १६ सिरिजमा क्यामरा एक्सन कन्ट्रोलका लागि साइड प्यानलमा एक बटन राखिएको छ । यसको प्रयोगबाट मोबाइल प्रयोगकर्ताले क्यामरा एप खोल्ने, फोटो खिच्ने, भिडियो बनाउने, जुम गर्ने गर्न सक्छन् ।
यस्तै एक्सपोजर, डेप्थ, फिल्ड कन्ट्रोल जस्ता काम पनि त्यही बटनबाट हुनेछ ।यसबाट फोटो खिच्न र भिडियो बनाउन अझै सहज हुने कम्पनीको दाबी छ । केही महिनापछि एप्पल इन्टिलिजेन्स सुरु हुनासाथ क्यामरा कन्ट्रोल मार्फत् भिजुअल इन्टिलिजेन्स पनि प्रयोगकर्ताले पाउने छन् ।
एक्सन बटन
आइफोन १६ सिरिजमा एक्सन बटन पनि राखिएको छ । प्रयोगकर्ताले यो बटनमा एकपटक थिचेर विभिन्न फङसनमा सजिलैसँग जान सक्छन् । उदाहरणका लागि फ्ल्यास लाइट, क्यामरा वा कन्ट्रोल यसैबाट खोल्न सकिन्छ । रिङ वा साइलेन्ट मोडमा पनि जान सकिन्छ । यसका अलावा अन्य नयाँ अप्सन पनि यसमा मिल्ने छ ।
ए १८ चिप
आइफोन १६ सिरिजमा एप्पल इन्टिलिजेन्सका लागि विशेषगरी ए १८ चिप प्रयोग गरिएको छ । यसबाट पावर क्षमतासँगै ब्याट्रीको लाइफ पनि बढ्ने कम्पनीको दाबी छ । यो विगतका आइफोन सिरिजभन्दा दुई जेनेरेसन अगाडिको चिप हो । आइफोन १५ मा ए१६ बायोनिक चिप प्रयोग गरिएको थियो ।

आइफोन १६ मा ४८ मेगापिक्सेलको डुअल क्यामरा सिस्टम छ । साथै, टेलिफोटो लेन्स २ गुणा जुम क्षमताको छ । आइफोन १६ प्रोमा भने यो ५ गुणा जुम क्षमताको छ ।
ब्याट्री
आइफोन १६ एकपटक फुल चार्ज गरियो भने लगातार २७ घण्टासम्म भिडियो हेर्न सकिने ब्याट्री क्षमता रहेको दाबी कम्पनीले गरेको छ । आइफोन १६ प्रोमा भने यस्तो क्षमता ३३ घण्टाको छ ।
कलर, डिस्प्ले र क्यापासिटी
आइफोन९१६ र आइफोन १६ प्लस कालो, सेतो, गुलाबी, हल्का हरियो र निलो गरी पाँच रङमा उपलब्ध छ । आइफोन १६ प्रो र प्रोम्याक्स भने कालो, सेतो, क्रिम र हल्का सुनौलो गरी चार रङमा उपलब्ध छन् ।

यसैगरी आइफोन १६ प्रोको साइज ६.३ इन्च र आइफोन १६ प्रो म्याक्सको साइज ६.९ इन्च छ ।
आइफोन १६ र आइफोन १६ प्लस १२८ जीबी, २५६ जीबी र ५१२ जीबी गरी तीन भेरिएन्टमा उपलब्ध छन् ।
आइफोन १६ प्रोका १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी गरी चार भेरिएन्टमा उपलब्ध छन् ।
आइफोन प्रोम्याक्स भने २५६ जीबी, ५१२ जीबी र १ टीबी गरी तीन भेरिएन्टमा उपलब्ध छन् ।
स्राेत- अनलाइन खबर