जनकपुरधाम । बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बचाउन गएका दुई छोरीलाई समेत उनले घाइते बनाएका छन् ।निजगढ नगरपालिका-९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
डीएसपी सापकोटाका अनुसार आमालाई बचाउन गएकी उनकी जेठी छोरी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएका छन् ।जेठी छोरी गंगाको अवस्था गम्भीर छ । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।डीएसपी सापकोटाका अनुसार मंगलबार साँझ साढे ७ बजेतिर श्रीमान् विमलकुमार मादकपदार्थ सेवन गरी आएपछि वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद भएको थियो ।
चारदिनदेखि घरको वाइफाइमा रिचार्ज सकिएको थियो । श्रीमतीले रक्सी खान पैसा हुने, वाइफाइमा रिचार्ज गर्न नहुने भनेपछि सुरु भएको विवादका क्रममा विमलले जथाभावी खुर्पा प्रहारेका थिए ।त्यसक्रममा छोरीहरु बचाउन जाँदा खुर्पा प्रहारबाट उनीहरु पनि घाइते भएको डिएसपी सापकोटाले बताए ।श्रीमान् विमललाई पक्राउ गरी घटना विषयमा थप अनुसन्धान गरिरहेको डीएसपी सापकोटाले बताए ।