चितवन – चितवनको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको छ ।अस्पतालका अर्थोपेडिक सर्जन डा। प्रमोद लामिछाने र डा। अनिल भट्टराईसहितको चिकित्सकहरुको टोलीले गत भदौ १६ गते कुहिनाको जोर्नी फेरेको हो ।
अस्पतालले सोमबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर भरतपुर १० का ५६ बर्षका रामसुन्दर जोशीको कुहिनाको जोर्नी प्रत्यारोपण गरेर निको भई डिस्चार्ज गरिएको जानकारी दिएको छ ।अस्पतालमा कम्मरको जोर्नी र घुँडाको जोर्नी प्रत्यारोपण हुँदै आए पनि पहिलोपटक भारतीय प्राविधिकसमेतको सहयोगमा कुहिनाको जोर्नी फेरिएको डा.अनिल भट्टराईले जानकारी दिए ।
५/६ बर्षको उमेरदेखि बोन टीबीका कराणले जोशीको हात नचल्ने भएको थियो । उनको हात १० देखि १५ डिग्री मात्रै चल्ने अवस्था थियो । जोर्नी प्रत्यारोपण पछि उनले सहज रुपमा हात चलाउन थालेको डा. भट्टराईले जानकारी दिए ।
कुहिनाको कृतिम जोर्नीलाई मात्रै करीव साढे तीन लाखको हाराहारीमा पर्ने गर्छ । शल्यक्रिया र हस्पिटल शुल्क गरेर पाँच लाख भन्दा बढी रकम खर्च लाग्ने अस्पतालका कार्यकारी निर्देशकसमेत रहेका डा. प्रमोद लामिछानेले जानकारी दिए ।
खर्चका हिसावले केही महंगो भए पनि सरकारले केही सहुलियत दिए कुहिनाको जोर्नी फेर्नुपर्ने बिरामीलाई सहज उपचार गराउन सकिने डा. लामिछानेले बताए । उनले घुँडा र कम्मरको जोर्नी प्रत्यारोपण भन्दा फरक खालको सेटअप कुहिनाको जोर्नीका लागि गर्नुपर्ने बताए ।