गैँडाकोट – पूर्वी नवलपरासीको गैँडाकोटमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १० भैसाखोरी स्थित राजमार्गमा बसको ठक्करबाट गैँडाकोट ११ घर भएका पुष्पराज श्रेष्ठका ७ वर्षका छोरा बिशाल श्रेष्ठ र उनकी हजुरआमा ५५ बर्षीया श्रीमाया मानन्धरको मृत्यु भएको हो ।
आज राति ९ वजे गैँडाकोट नगरपालिका वडा नं.१० नारायणगढबाट कावासोती जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसको ठक्करबाट श्रेष्ठ र मानन्धरको ज्यान गएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट बालक बिशालको घटनास्थलमै र हजुरआमा श्रीमायाको चितवनको पुरानो मेडिकल कलेजमा राति १०ः२४ बजे मृत्यु भएको अस्पताल स्रोतले उज्यालोलाई जनाएको छ । दुर्घटना लगत्तै बस र त्यसका चालकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।