×

 

चितवन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल नारायणगढ सडकको काम थपिएको समयमा पनि सम्पन्न नभए निर्माण कम्पनीसँग ठेक्का तोड्ने चेतावनी दिएका छन् ।चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले सडक क्रोनिक हुने अवस्थामा पुगेको बताउँदै थपिएको एक वर्षको म्यादभित्र काम सक्न निर्देशन दिए ।

मन्त्री दााहालले समयमै काम सम्पन्न गर्नका लागि अधिकतम सहजीकरण गर्ने र काम सम्पन्न नभए ठेक्का तोड्न बाध्य हुने बताए ।मन्त्री दाहालले देशकै लाइफलाइन मानिएको सडकमा जनताले धेरै नै दुःख पाएको भन्दै बर्खालगत्तै कामको गति तव्र बनाउन निर्माण कम्पनीलाई भनिएको बताए ।

बुटवल नारायणगढ सडकखण्डको अवलोकन गरेका मन्त्री दाहालले निर्माण कम्पनीका उच्च अधिकारीसँग पनि सरकार निरन्तर सम्पर्कमा रहेको बताए ।सन् २०१९ बाट निर्माण सुरु गरिएको सडकको हालसम्म ५४ प्रतिशत मात्रै भौतिक प्रगति छ । सरकारको तर्फबाट कुनै समस्या नरहेको र भुक्तानीसमेत ठेकेदार प्रगतिको आधारमा लिइरहेको मन्त्री दाहालले बताए ।

विदेशी कम्पनीले भन्दा बरु नेपाली निर्माण व्यवसायी भएको भए राम्रो काम गर्थे कि भन्ने बारेमा समेत सोच्न बाध्य भएको उनको भनाइ छ ।मन्त्रालयका सचिव केशवकुमार शर्माले ठेकेदार कम्पनीलाई धम्काएर, फकाएर भए पनि काम गराइ छाडिने बताए ।

उनले ठेकेदारले अब लगातार काम गरे १५ महिना भित्र पोजेक्ट सक्न कुनै समस्या नरहेको बताए । ‘सबै कुरा सेटअप छ, बर्खा पछि कामलाई गति दिन पनि सक्ने अवस्था हामीले देख्यौं, ठेकेदार कम्पनीहरुकै आन्तरिक समस्या होला तर, काम अब सक्नुपर्छ भनेर नै दवाव दिइएको छ , सचिव शर्माले भने, ठेक्का तोडेर जाँदा पनि झनै काम लथालिङ्ग हुने हो कि भन्ने चिन्ता पनि छ ।’

तपाईको प्रतिक्रिया