×

गैँडाकोट – पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले लगातार ३ दिनसम्म बजार अनुगमन गरेको छ । चाडपर्वहरु नजिकिएसँगै गैंडाकोट नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको हो । नगरपालिकाले नगरका विभिन्न वडाहरुमा ३ दिनसम्म बजार अनुगमन गरेको छ ।

नगरभित्र सञ्चालनमा रहेका होटल, मासुपसल तथा किराना पसलहरुमा अनुगमन गरिएको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले जानकारी दिनुभयो । सो क्रममा नियमअनुसार सञ्चालन नभएका र्फमहरुलाई ३ हजारदेखि १० हजार रुपैयासम्म जरिवाना गरेको खनालले बताउनुभयो ।

मंगलबार नगरको अमरापूरी क्षेत्र तथा बुधबार र बिहिवार गैँडाकोटको थुम्सीबजार, कुसुमनगर, एसपीएम कलेज क्षेत्र, शिल्यान्यासचोक, भृकुटीचोक र गैँडाकोट वडा नं. ३ को ढोडेनी क्षेत्रमा रहेका होटल, किराना पसल, फलफुल पसल तथा राजमार्ग नजिकै राखिएका ठेला गरि २ दर्जन बढी पसलहरुमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा स्टोरमा बिक्रीका लागि राखिएको म्याद गुज्रिएका सामाग्री फेला पारेपछि बरामद गरिएको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो । पसलमा म्याद नाघेका सामाग्री भेटिनुका साथै दर्ता प्रमाण पत्र, खरिद तथा बिक्री बिल समेत उपलब्ध गराउन नसकेपछि उक्त पसललाई कारवाही गर्ने प्रक्रियामा गइएको खनालले बताउनुभयो ।

उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरि कम गुणस्तर तथा म्याद गुज्रिएका कुनैपनि सामाग्री बिक्री बितरण गर्न नहुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली खाद्य अनुसन्धान अधिकृत ज्योती आचार्यले बताउनुभएको छ । अघिल्लो वर्षको तुलनामा गैँडाकोट नगरपालिकाका व्यवसायिहरुमा केही सुधार आएको भएपनि खाद्य स्वच्छताको सवालमा अझै पनि जनचेतनाको कमि रहेको अधिकृत आचार्यले बताउनुभयो ।

प्याकेट र सिलबन्दी भए नभएको, उल्लेख भए अनुसारको तौल, म्याद गुज्रिएको छ कि छैन लगायतका कुरामा उपभोक्ता पनि सचेत हुनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका प्राविधिक सहायक सन्तोष थापा मगरले बताउनुभयो । उहाँले उपभोक्तालाई समेत उपभोग्य सामाग्री खरिद गर्दा उत्पादन मिति तथा प्रयोगको अन्तिम मिति हेरर मात्र खरिद गर्न आग्रह गर्नुभयो ।
अनुगमनका क्रममा व्यवसाय दर्ता नगरेको, नवीकरण नगरेको, मूल्य सूची नराखेको, म्याद गुज्रेका सामान प्रयोग गरेको, लेवल स्पष्ट नभएका सामान प्रयोग गरेको गैँडाकोट नगरका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले जानकारी दिनुभयो ।

तस्विरमा – बजार अनुगमनको टोलि तथा बजार अनुगमनका क्रममा केहि र्फमहरुमा गरिएको निरिक्षण

तपाईको प्रतिक्रिया