×

काठमाडौं । सीमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली आइतबार फर्किएको छ । असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुबाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो ।

लगातार ८ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशूलीका विभिन्न ठाउँमा हराएका खोज्दा पनि नभेटिएपछि भारतबाट आएको टोली फर्किएको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भूसालले जानकारी दिए । शुक्रबार बस खोज्न भारतीय टोलीले ल्याएको चुम्बक नै हराएको थियो ।

अत्याधुनिक सोनार क्यामेरालगायतका उपकरणसहित १२ सदस्यीय टोलीले खोजी कार्य सुरु गरेको थियो । भारतीय टोली फर्किए पनि नेपाली उद्धार टोलीले भने खोजी कार्य जारी राख्ने डा उप्रेतीले जानकारी दिए । ‘भारतीय टोली फर्किए पनि हाम्रो टोलीले खोजी जारी नै राख्ने छ । खोजी कार्य टुंगिएको छैन’, उनले भने, ‘अतिरिक्त प्रयास भइरहेको छ ।’

असार २८ गते चितवन महनगरपालिका–२९, सीमलतालमा गएको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर २ वटा यात्रुबाहक बस बेपत्ता छन् । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा हुलेको थियो ।

हराएका बस खोज्न भारतबाट आएको भारतीय नेसनल डिजास्टर रेस्पोन्स फोर्सको टोलीसँगै नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली, सशस्त्र प्रहरीलगायत उद्धार तथा खोजीमा संलग्न थिए ।

तर, १७ दिनसम्म विभिन्न उपकरणसहित खोजी कार्य जारी राख्दासमेत हराएका २ वटै बस भेटिएका छैनन् । दुबै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँचेका थिए भने अहिलेसम्म २० जनाकोमात्रै शव भेटिएको छ । त्यसमध्ये ४ जनाको शव अझै सनाखत हुन सकेको छैन । २ जनाको शव भारतीय भूमिमा फेला परेको थियो । बसमा सवार बाँकी यात्रुको अवस्था अझै अज्ञात छ ।

 

तपाईको प्रतिक्रिया