×

काठमाडौँ- दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ।अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी छन्।

क्याप्टेन शाक्यको आँखा, नाक र टाउकोमा चोट रहेको, ढाडको एउटा हड्डीका साथै देव्रेतर्फका तीन वटा करङ भाँचिएको अवस्था रहेको डा. थापाको भनाइ छ।‘आँखा, नाक र टाउकोमा लागेका चोटको बुधबार नै उपचार गरिसकिएको छ,’ उनले भनिन्।दुर्घटनामा घाइते भई उपचाररत क्याप्टेन शाक्यको अवस्थाबारे काठमाडौं मेडिकल कलेजले बिहीबार दिउँसो विज्ञप्ति निकालेरै जानकारी गराएको छ।

घाइते क्याप्टेन शाक्यको बुधबारदेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। क्याप्टेन शाक्यले डा. थापासँग जहाज दुर्घटनाका सन्दर्भमा केही कुरा सुनाएका छन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट जहाज उडाएर ५०-१०० फिटमाथि पुर्‍याएपछि आफूले नियन्त्रण गर्न नसकेको क्याप्टेन शाक्‍यको भनाइ छ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा उडेको जहाज केहीबेरमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो। जहाज दुर्घटनामा परेर १७ जना नेपाली र एक जना विदेशीको निधन भएको थियो भने क्याप्टेन शाक्य घाइते भएका थिए।अस्पतालकी निर्देशक डा.थापाले क्याप्टेन शाक्यसँग गरेको कुराकानी उद्धृत गर्दै जानकारी दिएकी छन्।

‘जहाज उडाउन कोसिस गर्दै थिएँ, ५०-१०० फिट माथि गएको थियो। त्यसपछि कन्ट्रोल गर्न सकिनँ,’ क्याप्टेन शाक्यले बताएको कुरा उद्धृत गर्दै निर्देशक डा। थापाले भनिन्, ‘छिनमै जहाज तल झर्‍यो, मचाहिँ कता-कताबाट बाहिर निस्किएँ।’शाक्यलाई आइसियूमा राखेर उपचार गरिएको छ।

तपाईको प्रतिक्रिया