
काठमाडौं । पछिल्लो तीन दिनमा धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ८.२०९ प्रतिशतले बढ्दा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । तर, सेयर मूल्य सबैको एकैनासले बढेको छैन ।
बढेको बजारमा कतिपय कम्पनीको सेयर मूल्य घटेको पनि छ । बजार बढ्दा पनि केही कम्पनीको सेयर मूल्य घटेको छ । मान्डु हाइड्रोपावर कम्पनीको सेयर मूल्य १३ प्रतिशतले घट्दा यस कम्पनीको सेयर मूल्य एक हजार ४९३ रुपैयाँबाट तीन दिनमा घटेर एक हजार २९९ रुपैयाँमा झरेको छ ।
बजार ८ प्रतिशतले वृद्धि हुँदा ५७ कम्पनीको सेयर मूल्य १० देखि २४ प्रतिशतसम्म बढेको छ । यसको अर्थ यी कम्पनीका लगानीकर्ताले बढेको बजारमा तीन दिनमा १० देखि २४ प्रतिशतसम्म कमाए ।
सर्वाधिक सेयर मूल्य बढ्नेमा मन्दाकिनी हाइड्रोपावर छ । यस कम्पनीको सेयर मूल्य २३.८९ प्रतिशतले वृद्धि भएको छ । गत असार ३१ गते ५६५ रुपैयाँ कायम भएको यस कम्पनीको सेयर मूल्य आज ९साउन ३ गते० ७०० रुपैयाँ कायम भएको छ । तीन दिनमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३५ रुपैयाँले बढेको छ ।
त्यस्तै, पछिल्लो तीन दिनमा १० प्रतिशतभन्दा बढीले सेयर मूल्य बढ्नेमा कुमारी बैंक, नेपाल एसबीआई बैंकलगायत प्रायः सबै वाणिज्य बैंक परेका छन् ।
रकमका हिसाबले तीन दिनमा सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा युनिलिभर, बोटलर्स नेपाल , राष्ट्रिय बिमा कम्पनी, बोटलर्स नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन, उपकार लघुवित्त, इमर्जिङ नेपाल र जनउत्थान समुदायिक लघुवित्त छन् । यी कम्पनीका लगानीकर्ताले प्रतिकित्ता २०० भन्दा बढी नाफा आर्जन गरेका छन् । युनिलिभरका लगानीकर्ताले भने प्रतिकित्ता पाँच हजार १७२ रुपैयाँसम्म नाफा आर्जन गरेका छन् ।
अहिले युनिलिभरको सेयर मूल्य प्रतिकित्ता ५२ हजार ५०० पुगेको छ । पछिल्ला दिनमा बजार बढेसँगै कुल बजार पुँजीकरण (लगानीकर्ताको कुल सम्पत्ति) ३८ खर्ब ४६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार साढे १५ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ