×

 

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ।रास्वपाका सहप्रवक्ता प्रतिभा रावलले महामन्त्रीलाई डा. ढकाललाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको बताइन्।

‘उहाँलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो,’ रावलले भनिन्।महामन्त्री ढकालले पार्टीको अनुशासनविपरीत समीक्षा यात्राको प्रतिवेदनका विषय सार्वजनिक गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको एक नेताले जानकारी दिए।

इलाम—२ को प्रतिनिधि सभा उपचुनावमा पार्टीले हार व्यहोरेपछि महामन्त्री ढकाल देश दौडाहामा निस्किएका थिए।उनले ३९ जिल्लाका २ हजार ७९ जना नेता—कार्यकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गरेर प्रतिवेदन तयार पारेका थिए।

तर सभापति रवि लामिछानेलाई बुझाउनुअगावै सञ्चारमाध्यममा पार्टी संकटमा रहेको र चुनावमा राष्ट्रिय पार्टी बन्न गाह्रो पर्ने बताएको भन्दै स्पष्टीकरण थमाइएको हो। उनले प्रतिवेदन बुझाउनुअगाडि नै सत्य कुरा बताएवापत् महामन्त्रीबाट हटाइन सकिनेसमेत बताएका थिए।

महामन्त्री ढकालले अनुशासन आयोगले आफूलाई स्पष्टीकरण सोधेकोबारे थाहा नभएको बताए। उनले स्पष्टीकरण नदिने पनि बताएका छन्। पार्टी सभापतिलेबाहेक अरूले स्पष्टीकरण सोध्ने अधिकार नरहेको भन्दै उनले यसको जवाफ नदिने बताएका छन्।

‘भोलि वडाका सभापतिहरू स्पष्टीकरण पत्र बोकेर आउलान्। पलिकाका सभापतिले पत्र थमाउलान्, महामन्त्रीले सबैलाई स्पष्टीकरण दिन्छ,’ ढकालले  भने, ‘मलाई पार्टी सभापति रवि लामिछानेबाहेकले स्पष्टीकरण सोध्ने अधिकार छैन।’

तपाईको प्रतिक्रिया