गैँडाकोट । नेकपा एमालेका उप–महासचिव तथा पूर्व–पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गैँडाकोटमा जनताको मनमा रहेको नेकपा एमाले प्रतिको मायालाई आगामी दिनमा बाकसमा खस्ने मतको रुपमा कसरी कन्भर्ट गर्ने भन्ने विषयमा तल्लिन हुन निर्देशित गर्नुभएको छ ।
पार्टीको गैँडाकोट नगरपालिकाको दोस्रो अधिबेशनबाट नव निर्वाचित पदाधिकारी एवं सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा उप–महासचिव ज्ञवालीले नेपाली काँग्रेसको गढको रुपमा रहेको गैँडाकोटमा २०७४ सालमा भएको निर्वाचनबाट नेकपा एमालेले नगरको नेतृत्व हासिल गर्न सकेको प्रसंग उल्लेख गर्दै आगामी निर्वाचन सम्म योजनावद्ध रुपले काम गरी अपराजय शक्तिको रुपमा स्थापित गर्न आग्रह गर्नुभयो ।
कृष्ण कँडेल नेतृत्वको नगर कमिटीलाई बधाइ ज्ञापन गर्दै उहाँले गत चुनावमा यहाँ सोचेको परिणाम हासिल गर्न नसके पनि ठूलो शक्ति र जनताको मनमा बस्न सफल भएको उल्लेख गर्नुभयो । उहाँले दुई वटा मुख्य राष्ट्रिय संकल्प तर्जुमा गरेर सिंगो पार्टीलाई डोराउन लागेको बताउँदै त्यो अभियानलाई पूर्णता दिन नगर कामिटीको पनि दायित्व रहेको बताउनुभयो ।
उहाँले पहिलो संकल्प नेकपा एमालेको नेतृत्वमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने र आगामी निर्वाचनसम्म निर्णायक तहमा पुराउने तथा आउने २५ वर्ष भित्र नेपाललाई संसारकै एउटा समुन्नत मुलुकको रुपमा विकास गर्ने संकल्पका साथ अघि बढेको बताउनुभयो । केन्द्रमा नयाँ समिकरण सँगै नेकपा एमाले पुनः राष्ट्रिय शक्तिका रुपमा स्थापित भएको उल्लेख गर्दै अहिले वातावरण अनुकुल बन्दै गएको बताउनुभयो ।
एमाले गैँडाकोट नगरको दोस्रो अधिबेशनबाट अध्यक्षमा कृष्ण कंडेल, उपाध्यक्षमा गोविन्द प्रसाद सुवेदी, सचिवमा भूमिश्वर भूसाल (राजु), उपसचिवमा नर बहादुर थापा र गोमा पौडेल विजयी हुनुभएको छ । लेखा संयोजकमा श्रीहरी चालिसे चुनिनुभएको छ ।
निर्वाचन समितिका संयोजक रमेश काफ्लेले अध्यक्ष र संयोजकलाई अध्यक्ष तथा संयोजकले पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराउनुभएको थियो । जेठ २५ गतेदेखी शुरु भएको नगरको दोस्रो अधिवेशनमा उम्मेदवारहरुका बीचमा सहमती जुट्न नसकेपछि गत असार ६ गते मतदान मार्फत नेतृत्व चयन गरिएको हो ।
शपथ ग्रहण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला र स्थानीय तहका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।




उज्यालो खबर




