काठमाडौं । अष्ट्रेलियाले विद्यार्थी भिसासम्बन्धी नियममा थप कडाइ गरेको छ ।अष्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले अर्को महिना(१ जुलाई) देखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी हुन् ।
यी नियमहरू लागू भएसँगै भिसासम्बन्धी प्रावधानका केही छिद्रहरू प्रयोग गरेर अष्ट्रेलिया बसाइ लम्ब्याउन चाहने विदेशी विद्यार्थी बढी प्रभावित हुनेछन् ।खासगरी विद्यार्थी र अन्य अस्थायी भिसा वाहकहरूलाई अनिश्चितकालसम्म अष्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको मन्त्री ओनिलले स्पष्ट पारेकी छन् ।
गत १० महिनाको अवधिमा पर्यटक भिसाबाट विद्यार्थी भिसामा जानेको संख्या ३६ हजार रहेको मन्त्री ओनिलले विज्ञप्तमा उल्लेख गरेकी छन् ।त्यस्तै, ग्राजुएट भिसा ९टीआर० मा बसेका ३२ प्रतिशत विद्यार्थी पुनः विद्यार्थी भिसामा नै अष्ट्रेलिया बसाइलाई निरन्तरता दिइरहेको उनले बताएकी छन् ।
यसलाई गत वर्ष जारी गरिएको आप्रवासन रणनीति कार्यान्वयनकै शृङ्खलाको रूपमा व्याख्या गरिएको छ ।
आगन्तुक भिसा र अस्थायी स्नातक भिसा(दुई भिसा क्याटागोरी सबक्लास ६०० र ४८५) मा रहेकाहरूले अबदेखि अनसोर(अष्ट्रेलिया भित्रैबाट) विद्यार्थी भिसाका लागि आवेदन दिन सक्ने छैनन्। यद्यपि त्यस्ता विद्यार्थीहरूले आफ्नो देश फर्किएर पुनः विद्यार्थी भिसामा आवेदन दिन भने पाउनेछन् ।
यसअघि टुरिस्ट भिसामा अष्ट्रेलिया पुगेर त्यसलाई विद्यार्थी भिसामा बदलेर उतै बस्ने अभ्यास बढिरहेको थियो । अध्ययन सकेपछि पाइने ग्राजुएट भिसा(टीआर) को अवधि सकिएपछि पुनस् विद्यार्थी भिसामा आवेदन दिएर यतै बस्नेको ठूलो सङ्ख्या रोक्न पनि यसले योगदान पुग्ने मन्त्री ओनिलले संकेत गरेकी छन् ।
कोभिड महामारीपछि विदेशी विद्यार्थी ह्वात्तै बढेर ७ लाख ४० हजारभन्दा बढी पुगेपछि अष्ट्रेलियाले नयाँ आप्रवासन नीति सार्वजनिक गर्दै यसलाई उल्लेख्य रूपमा घटाउने रणनीति लिएको थियो ।अष्ट्रेलिया सरकारको नयाँ नियमहरूले नेपाली विद्यार्थीहरू पनि प्रभावित हुने रजिस्टर्ड माइग्रेसन एजेन्ट सनत शर्मा बताउँछन् ।
हाल अष्ट्रेलियामा ५५ हजार ३ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । चीन र भारतपछि सबैभन्दा ठूलो सङ्ख्यामा नेपाली विद्यार्थी अष्ट्रेलियामा अध्ययनरत छन् ।