
काठमाडौं । अछाम र दैलेख जोड्न कर्णाली नदीमाथि बनेको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका ९ वटा खच्चडको करिब ७ घण्टापछि जीवितै उद्धार गरिएको छ । २ वटा खच्चड भने मरेका छन् ।
उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी सन्तोष पाठकका अनुसार एउटा खच्चड पुलमै मृत फेला परेको थियो भने एउटा खच्चडको कर्णाली नदीमा बगेर मृत्यु भएको हो ।
मरेका दुईवटै खच्चड व्यवसायी जीवन रोका मगरका हुन् । १४ वर्षदेखि खच्चड व्यवसाय गर्दै आएका राजेन्द्र बोहराको ५ वटा खच्चडको उद्धार त भयो, तर घाइते भएर हिँड्नै नसक्ने अवस्थामा छन् । ‘७ वटा खच्चडमध्ये २ वटा पुल नपुग्दै फर्किए’, उनले भने, ‘पुलमा अड्किएका खच्चडलाई उद्दार गर्ने क्रमा नदीमा झारिएका कारण हिँड्नै नसक्ने छन्, बाँचेर पनि मरेका जस्तै भए ।’
उनका अनुसार यही पुलबाटै दर्जनौं पटक खच्चडहरु ओहोरदोहोर गरेका छन् । ‘यही पुलबाटै एकैचोटि २०र२२ वटा खच्चड लोड बोकेर हिँडाएका छौं, त्यतिबेला केही भएन’, उनले भने, ‘हामी हिँड्ने बाटो नै यही हो ।’
बोहराका अनुसार गाउँमा यातायातका साधन नपुगेकाले खच्चडलाई ढुवानीमा प्रयोग गर्ने गरिएको छ । एउटै खच्चडलाई ९० हजार रुपैयाँ भन्दा बढी पर्छ । भन्छन्, ‘हामीले गरिखाने भनेको यही खच्चड डोर्याएर हो ।’
कसरी गरियो उद्धार ?
कर्णालीमाथि बनेको झोलुंगे पुलको लट्ठा चुँडिएर खच्चड फसेको खबर ढिलो गरी सुरक्षा निकायलाई पुगेको थियो । खच्चर उद्धारका लागि दुवै जिल्लाका सुरक्षा तथा उद्धार टोली खटिएका थिए ।
तर यस्तो प्रकृतिको उद्धार उनीहरुका लागि नौलो थियो । ‘हामीले बेलाबेलामा विभिन्न ट्रेनिङ ल्याइराख्छौं । तर यस्तो खाले ट्रेनिङ ल्याएका थिएनौं’, जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी पाठकले भने, ‘सुरुमा त एकछिन के गर्ने भन्ने भयो ।’
जोखिमयुक्त भएकाले सबै खच्चडलाई माथि तान्न सम्भव थिएन । त्यसैले फसेका सबै खच्चडलाई जसरी हुन्छ कर्णालीमा झार्ने र डुंगाको सहायतामा उद्धार गर्ने निष्कर्षमा सुरक्षा अधिकारीहरु पुगे । ‘सल्लाह गर्दा सबैलाई तल झारौं भन्ने भएपछि त्यहीअनुसार गर्यौं’, पाठकले भने ।
डोरीको सहायतामा खच्चडहरु अल्झिएका तार काटेर एकएक गर्दै खच्चड कर्णालीमा झारिएको थियो । तल कर्णाली नदीमा डुंगा र उद्धार टोली तैनाथ थिए ।
सबै खच्चड नदीमा झार्नमात्रै करिब साढे २ घण्टा लागेको डीएसपी पाठकले जानकारी दिए । ‘एउटा खच्चड पानीमा पौडिन सकेन, बगेर मर्यो’, उनले भने, ‘एउटा माथि नै मरिसकेको थियो ।’
खच्चडको उद्धारपछि झोलुंगे पुलमा आवातजावत बन्द गरिएको छ । त्यसको मारमा भने विद्यार्थी परेका छन् ।
अब उनीहरुले कर्णालीमा चलाइएको डुंगाबाट जोखिमयुक्त यात्रा गर्नुपर्नेछ । ‘विद्यार्थीलाई जोखिम त बढ्यो, तर सकेसम्म छिटो बनाउने गरी दुवैतर्फका पालिकासँग समन्वय गरिराखेका छौं’, डीएसपी पाठकले भने ।
आठबीस नगरपालिका–४ का वडाध्यक्ष टेकबहादुर माझी डुंगा पनि साना आकारका भएकाले बर्षात्को बेला झनै जोखिम छ । ‘कतिबेला नदी बढ्छ, थाहै हुन्न’, उनले भने । दुवै किनारको दूरी करिब ७५ मिटरमात्रै भएकाले त्यहाँ पक्की पुल आवश्यक रहेको उनी बताउँछन् ।