काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टी अब झनै परिपक्व भएर अघि बढ्ने बताएका छन् ।चितवनमा भएको महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका सभापति लामिछानेले शपथ ग्रहणपछिको सम्बोधनको क्रममा यस्तो बताएका हुन् ।
‘प्रतिबद्धताका साथ हामी भन्न चाहन्छौं, पहिलो ऐतिहासिक महाधिवेशनबाट राजनीतिक रुपमा वैधानिकता प्राप्त गरेको देशकै सबैभन्दा ठूलो झण्डै दुई तिहाइको सरकार सरकार सञ्चालन गरिरहेको रास्वपा परिपक्व भएर अघि बढ्नेछ,’ लामिछानेले भने ।
उनले यो ४ वर्षमा केही कमजोरी भएका र अब त्यसलाई सधैं देखिनेगरी अघि बढ्न नहुने जिकिर गरे ।‘जे भयो आज हामी त्यहीँ छौं । जुन किसिमका कमी कमजोरी हामीले यो ४ वर्षमा छुटायौं, त्यो चिज हाम्रा कार्यक्रममा देखिन थालेका छन् । तर, यो सधैं देखिन हुँदैन,’ उनले भने ।
निर्वाचन भइसकेपछि एउटा परिणाम आउने बताउँदै जित हारलाई क्षणिक कुराको रुपमा लिन आग्रह गरे ।
‘निर्वाचन गइसकेपछि त्यसले एउटा परिणाम त दिइहाल्छ । प्रतिस्पर्धीका रुपमा हामीले लड्नैपर्छ । सभापतिका रुपमा मैले कुनै पनि अधिवेशनहरूमा आफूलाई प्रत्यक्ष संलग्न नगराई हेर्ने प्रयास गरेँ,’ उनले भने, ‘यो पहिलो महाधिवेशन भएकाले हाम्रो संगठन कस्तो अवस्थामा छ भन्ने हेर्नु थियो । हामी कहाँ रहेछौं भन्ने कुरा आन्द्राभुँडि थाहा पाउनु थियो । सभापतिका रुपमा अत्यन्तै महत्व राख्ने कुरा रहे । तमाम कमजोरीका बाबजुद पनि जसरी धैर्यता राख्नुभयो, धेरै धेरै धन्यवाद ।’

उज्यालो खबर