पानी केवल तिर्खा मेट्ने तिर्सना मात्र होइन रहेछ, यो त दुःखसुखको सहयात्री पनि बन्न सक्दो रहेछ। गफगाफमा आदर्शका कुरा गर्न सजिलो हुन्छ, तर पदमा बसेर जनताको आँसु र हाँसोलाई महसुस गर्न निकै गाह्रो हुन्छ। गैँडाकोट पम्पिङ (खानेपानी) संस्थाको इतिहासमा वि.सं. २०७९ जेठ २९ गतेदेखि भर्खरै असार ७ गतेसम्मको चार वर्ष यस्तै एउटा मर्मस्पर्शी अध्याय बन्यो, जसको नेतृत्व पूर्व वडाध्यक्ष समेत रहेका कृष्णप्रसाद न्यौपाने- अर्थात् ‘कृष्णदाइ’ले गरेका थिए।
विलासिताको गाडी होइन, जनताको ओठको मुस्कान
नेतृत्वमा आउनेबित्तिकै धेरैलाई कुर्सी र गाडीको मात लाग्छ। अघिल्लो कार्यसमितिले गाडी किन्ने निर्णय गरिसकेको थियो। कृष्णदाइले चाहेको भए आरामसँग नयाँ गाडीमा सररर घुम्न सक्थे। तर, उनको मनले मानेन। “म यहाँ उपभोक्ताको पसिनाबाट उठ्ने पैसाले गाडी चढ्न आएको होइन,” भन्दै उनले विलासिताको त्यो निर्णयलाई च्यातेर फालिदिए। गाडी किन्न छुट्याइएको रकम संस्थाको चुस्तता र जनताको सेवामा मोडियो। नेता गाडीमा होइन, जनताको मनमा दौडिनुपर्छ भन्ने उदाहरण उनले आफ्नै निर्णयबाट पुष्टि गरिदिए।
शोकको घडीमा राज्यभन्दा पहिलो अभिभावक
सबैभन्दा मन छुने र आँखा रसाउने कार्य त उनले मानवीय संवेदनाको क्षेत्रमा गरे। जब कुनै उपभोक्ताको घरमा कसैको मृत्यु हुन्थ्यो, सिंगो परिवार शोकमा डुब्थ्यो। यस्तो विपद्को घडीमा कृष्णदाइको नेतृत्वमा रहेको संस्थाले एउटा आत्मीय अभिभावकको भूमिका खेल्यो। मृतकको घरमा ‘भेटी’ स्वरूप एक महिनाको पानी महसुल पूर्ण रूपमा छुट दिने निर्णय गरियो। पैसाको हिसाबले त्यो थोरै होला, तर मृत्युको त्यो अन्धकार क्षणमा “तिमीहरू एक्लो छैनौ, संस्था तिम्रो साथमा छ” भनी दिइएको त्यो ढाडसको मूल्य संसारको कुनै धनसँग तुलना हुन सक्दैन।
गरिबको चूल्हो र तिर्खाएको ओठ
प्रत्येक परिवारलाई ५ हजार लिटरसम्म पानी निःशुल्क दिने निर्णय गरेर उनले गैँडाकोटका हजारौँ गरिब तथा विपन्न परिवारको चूल्हो निभ्नबाट बचाए। स्थानीय सरकारसँग हातमा हात मिलाएर विपन्न नागरिकका घर-घरमा सित्तैमा धारा जोडिए। जब खानेपानीको महसुल तिर्न नसकेर कसैको धारा काटिने डर हुन्न, तब मात्र साँचो अर्थमा लोककल्याणकारी समाजको महसुस हुन्छ। ६० किलोमिटर पाइपलाइन बिछ्याएर, २ वटा नयाँ बोरिङ खनेर करिब ७ हजार घरधुरीका तिर्खाएका ओठहरूलाई उनले सन्तुष्टि दिए।
बालबालिकाको स्वास्थ्य र गाउँको सुरक्षा
विद्यालयहरूलाई पानीको महसुलमा २५ प्रतिशत छुट दिने र त्यो छुटबापतको रकम विद्यालयले अनिवार्य रूपमा बालबालिकाको सरसफाइमा खर्च गर्नुपर्ने नियम बनाएर उनले भविष्यका कर्णधारहरूको स्वास्थ्यको रक्षा गरे। गाउँमा कतै अचानक आगो बलेर कसैको सर्वस्व नहोस् भनेर ९ वटा चोकहरूमा दमकलले तुरुन्तै पानी भर्न मिल्ने ‘फायर हाइड्रेण्ट’ बनाए। मानौँ, उनले पानी मात्र बाँडिरहेका थिएनन्, सिङ्गो गैँडाकोटको सुरक्षा र भविष्यलाई सुरक्षित गरिरहेका थिए। निरस पम्पहाउसहरूलाई हरियाली (ग्रीनरी) बनाएर उनले प्रकृतिलाई पनि ढोगे।
आँखाभरि कृतज्ञताका आँसु र एउटा सुनौलो बिदाइ
गत असार ७ गते जब कृष्णदाइ र उनको टोलीले नयाँ कार्यसमितिलाई पदभार बुझाएर बाहिरिँदै थियो, त्यहाँ कुनै तडकभडक थिएन, केवल एउटा गहिरो शून्यता र कृतज्ञता थियो। उपभोक्ताहरू टोलाएर हेरिरहेका थिए। चार वर्षको छोटो अवधिमा कसैले यति धेरै दीर्घकालीन र मन छुने काम गरेर बिदा हुन सक्छ भन्ने कुरा गैँडाकोटवासीका लागि एउटा जीवन्त इतिहास बन्यो।
कृष्णदाइले पद छोडेका छन्, तर गैँडाकोटका ७ हजार घरका धाराहरूबाट खस्ने पानीको प्रत्येक चिसो थोपामा उनको त्यो निष्काम सेवा, दयालु मन र दूरदृष्टिको न्यानो सुगन्ध लामो समयसम्म बगिरहनेछ। पद त आउँछ जान्छ, तर कृष्णदाइले गैँडाकोटवासीको मनमा जुन प्रेमको इनार खनेका छन्, त्यो कहिल्यै सुक्ने छैन। धन्यवाद कृष्णदाइ!!

उज्यालो खबर