×

पोखरा । पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका छन् ।आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् ।

उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए ।कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रधानमन्त्री प्रचण्ड गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलगायतमा सहभागी हुन मंगलबार पोखरा आएका थिए ।आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी भएर पार्टी प्रशिक्षण कार्यक्रममा जाँदै गर्दा सहकारी पीडितले कालो झण्डा र ब्यानर देखाएका हुन् ।

सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले प्रहरीले लात्ती प्रहार गरेर ७८ वर्षीय भीमप्रसाद चपाईँ र ३० वर्षीया अनुराधा श्रेष्ठलाई घाइते बनाएको बताए । सहकारीका पीडितले न्याय माग्दा धरपकड भएको भन्दै उनले राज्य कसको पक्षमा छ भन्ने पुष्टि भएको बताए । ‘म काठमाडौं छु, प्रधानमन्त्रीलाई न्यायका लागि सभागृह पुगेर ध्यानाकर्षण गराउने कार्यक्रम थियो,’ श्रेष्ठले भने, ‘तर, न्याय माग्न पुगेका पीडितलाई प्रहरीले दमन गरेको छ ।’

 

तपाईको प्रतिक्रिया