
गैँडाकोट- नवलपुरको गैँडाकोट नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेटका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल कार्यक्रम सुरु गरेको छ । यसैक्रममा शुक्रबार व्यवसायीहरुको क्षेत्रमा पालिकाले आगामी दिनमा कस्ता कार्यक्रम सञ्चालन गर्ने र त्यसमा व्यवसायीको सहयोग कस्तो रहने लगायतको बिषयमा छलफल भएको छ ।
छलफल कार्यक्रममा सहभागि व्यवसायीहरुले आर्थिक मन्दिका कारण व्यवसायीमा चुनौती खडा भएको, करको थर बढी हुँदा समस्या उत्पन्न भएको, आर्थिक मन्दिको समस्याबाट ठूलो क्षति व्यवसायीलाई परेको धारणा राखेका छन् ।
उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष दीपक सापकोटाले गैँडाकोट नगरपालिकाको नीतिमा करको दायरा बढाउने, दर नबढाउन कार्यक्रम समावेश गर्न अनुरोध गरे ।उद्योग वाणिज्य संघ गैँडाकोटका बरिष्ठ उपाध्यक्ष छवि कंडेलले आर्थिक मन्दिरको चपेटामा परेका व्यवसायीलाई हौसला दिने कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । कंडेलले अटो व्यवसायिलाई समेत नगरपालिकाले कर दायरामा ल्याउनुपर्ने धारणा राखेका छन् ।
गैँडाकोट १० का वडा अध्यक्ष तथा लेखा समिति संयोजक देविदत्त कंडेलले दोहोरो करका कारण पनि समस्या भएको गुनासो बढ्न थालेकाले यसमा छलफल गर्नुपर्ने बताए ।गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले सरकारको तीनखम्बे अर्थ नीतिलाई आत्मसाथ गर्दै आगामी दिनमा नीजि क्षेत्रसँग कसरी सहकार्य गर्ने भन्ने उद्देश्यले छलफल गरिएको जानकारी दिए ।