चितवन – माडी क्याम्पसका विद्यार्थीहरुले क्याम्पस प्रमुख र क्याम्पस व्यवस्थापन समिति अध्यक्षको कुर्ची जलाएका छन् ।क्याम्पसमा अध्यापनरत प्राध्यापकहरु गत शुक्रबारदेखि पठनपाठन ठप्प पारी आन्दोलनमा उत्रिएसंगै बन्द रहेको क्याम्पस सञ्चालन सुचारु गर्न आवश्यक पहल नलिएको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रमुख रामकृष्ण क्षेत्री र व्यवस्थापन समिति अध्यक्ष शिवनारायण गुरौको कुर्चीमा आगजनी गरेका हुन् ।
बन्द क्याम्पस खुला गर्न क्याम्पस व्यवस्थापन, प्रशासन र प्राध्यापक सबै पक्ष जिम्मेवार हुनुपर्ने माडी क्याम्पस स्व।वि।यु। एवं विद्यार्थी संगठनहरुको भनाई छ । तलब सुबिधा बृद्धिको माग गर्दै पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल, माडी क्याम्पस इकाई समितिले दोश्रो पटक गत शुक्रबारदेखि माडी क्याम्पसको पठनपाठन अनिश्चितकालिन बन्द गरेको अवस्था छ ।
क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले न्यून तलबमा काम गर्दै आएको भन्दै ‘खाइपाई आएको सेवा सुविधा कायमै रहनुपर्ने’ मुख्य मागसहित आन्दोलन गरिरहेका हुन् । क्याम्पस व्यवस्थापन समितिले दशैंपर्व विशेष भत्ता हटाउने निर्णय गरेकोप्रति प्राध्यापकहरु असन्तुष्ट रहेको बुझिन्छ ।
यसबाहेक तलब स्केल न्यूनतम मा.वि. द्वितिय श्रेणीको शिक्षक सरह कायम हुनुपर्नेु, क्याम्पसमा गरिने निणर्यहरु क्याम्पसको विधान तथा क्याम्पस सञ्चालन कार्यविधिभित्र रही गर्नुपर्नेु, प्राज्ञिक थलोमा प्राज्ञिक व्यक्तिहरूबाट प्राज्ञिक व्यवहारको सुनिश्चितता हुनुपर्नेु लगायतका मागहरु समेत प्राध्यापकहरुले अगाडि सारेका छन् ।



उज्यालो खबर




