×

काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको आज काठमाडौं आउँदैछिन् ।अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लागेकी हुन् ।काठमाडौंमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने सूचनामा उल्लेख छ । नेपाल र जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा उनको यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन मद्दत मिल्ने विश्वास छ ।मन्त्री श्रेष्ठसँगको भेटवार्तालगत्तै खामिखावा आजै काठमाडौंबाट टोकियो फर्किने जापानको विदेश मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ ।

जापानकी विदेशमन्त्री खामिखावाले अप्रिल २६ देखि नेपाल र श्रीलंकासहित मादागास्कार, कोट डी आइवर, नाइजेरिया र फ्रान्सको भ्रमणमा निस्किएकी थिइन् । ४ मे मा श्रीलंका पुगेकी उनी त्यहाँ एक दिन बसेर ५ तारिख नेपालको राजधानी काठमाडौं आउन लागेकी हुन् ।

जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।नेपालमा सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरीको भ्रमण भएको थियो । यो नै हालसम्मको उच्चस्तरीय भ्रमण हो ।त्यसपछि सन् २०१९ मा जापानका तत्कालीन परराष्ट्रमन्त्री कोउनो तारोउको मन्त्रीस्तरीय भ्रमण भएको थियो । नेपाललाई निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा जापान अग्रस्थानमा छ ।

तपाईको प्रतिक्रिया