×

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् ।राजधानीमा बुधबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेको बताएका हुन् ।

विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३।६ र राष्ट्रिय तथ्यांक कार्यालयले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको उनले बताए ।

अर्थतन्त्रमा थोरै शिथिलता रहेको र यसमा आन्तरिक र वाह्य कारण रहेको उनले बताए । तथ्यांकहरुले विस्तारै त्यसमा सुधार देखाएको भन्दै मन्त्री पुनले बाँकी अवधिमा पूँजीगत खर्च बढाउन पहल गर्ने बताए । यद्यपि अझै पनि ढुक्कसँगै अर्थतन्त्र राम्रो भयो भन्ने अवस्था नरहेको उनले बताए ।

मन्त्री पुनले विश्वको आर्थिक र राजनीतिक केन्द्र, श्रम बजारको अवस्था, श्रम शक्ति, आन्तरिक प्राकृतिक श्रोत तथा भूराजनीतिमा टेकेर आर्थिक नीति बनाउनुपर्ने बताए ।नेपाल विश्व अर्थतन्त्रका दुई उदयीमान मुलुक भारत र चीनको बीचमा रहेकाले ती मुलुकको बजार हेरेर नीति बनाउनु पर्ने समेत उनले बताए ।

भारत र चीनबाट ठूलो संख्यामा मध्यम वर्ग भ्रमणमा निस्कने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको बताए ।आर्थिक शिथिलताकै बीचमा पनि चालु आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको पुनको भनाइ छ ।

निर्माण क्षेत्रमा भने नकारात्मक अवस्था रहेकाले त्यसमा सुधार गर्न सरकार प्रयासरत रहेको बताए । उनले नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन सकेन भन्ने स्वीकार्न आफू तयार नरहेको बताए ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा ०६४ सालमा अख्तियार गरिएको ऊर्जासम्बन्धी नीतिको निरन्तरताका कारण नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्न सक्ने अवस्था आएको चर्चा उनले गरे ।

‘प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले ऊर्जा क्षेत्रमा लिएको नीतिको निरन्तरता अझै छ । यो बीचमा १५ वटा सरकार फेरिए होलान् तर नीति फेरिएको छैन’, मन्त्री पुनले भने, ‘नेपालमा स्थिरता छैन भन्ने हल्ला सरकार, निजी क्षेत्र, सञ्चार माध्यम र वौद्धिक व्यक्तित्वहरु मिलेर चिनुपर्छ ।’

उनले नेपालमा सूचना प्रविधि र कृषि क्षेत्रमा पनि राम्रो सम्भावना रहेको बताए । फरक प्रसंगमा मन्त्री पुनले नेपालमा वैदेशिक लगानीको समेत राम्रो सम्भावना रहेको बताए ।वातावरण राम्रो भएकै कारण बहुराष्ट्रिय कम्पनीहरु नेपालमा लगानी गर्न आइरहेको उल्लेख गरे । हालसम्म नेपालमा लगानी गरेका कम्पनीहरुले घाटा ब्यहोरोको आफूले थाहा नपाएको चर्चा गर्दै उनले त्यही नै नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको प्रमाण रहेको बताए ।

तपाईको प्रतिक्रिया