×

चितवन- पछिल्लो एक महिनायता काठमाडौंसहित देशका केही सहरहरूमा वायु प्रदूषण उच्च बनेको छ । वातावरण विभागको सूचकांकमा आइतबार चितवनको भरतपुर सबैभन्दा प्रदूषित सहरमा सूचीकृत छ । विभागका अनुसार भरतपुरमा आज बिहान ११ः४५ बजे वायुको गुणस्तर सूचकांक एक्यूआई २२२ पुगेको छ । यस्तै, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एक्यूआई ११५ देखि १५३ सम्म पुगेको छ ।

विभागको सूचकांकले मुगुको रारामा समेत डढेलोका कारण एक्यूआई १५३ पुगेको छ । यस्तै, पोखरामा समेत एक्यूआई १४० पुगेको विभागको रेकर्ड छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार आइतबार बिहान ११ः३० बजे विश्वका १२२ सहरहरूमध्ये काठमाडौं दोस्रो प्रदूषित नम्बरमा सूचीकृत छ ।

काठमाडौंमा गएको २४ घण्टाको वायुको गुणस्तर एक्यूआई १९५ सम्म पुगेको विभागको रेकर्ड छ । एक्यूआई शून्यदेखि ५० सम्मको (हरियो) रहेको वायु स्वस्थकर हुन्छ । ५१ देखि १०० सम्मको (पहेँलो) भए होसियार रहनुपर्ने र १०१ देखि १५० एक्यूआईसम्म (खैरो) रहेको वायुले श्वासप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ ।

यस्तै, १५१ देखि २०० सम्म एक्यूआई (रातो) पुगेमा सबैका लागि अस्वस्थकर हुने र सोभन्दा माथि जति बढ्दै गयो उति वायु अति हानिकारक बन्दै जान्छ ।

तपाईको प्रतिक्रिया