दाङ- दाङमा विद्युतको हाइटेन्सन लाइनको तार चुँडिएर शरीरमा खसेपछि एकै परिवारका तीन जनाको मृत्यु भएको छ।राप्ती गाउँपालिका–३ का ५५ वर्षीया दिलसरा केसी, उनका श्रीमान ६० वर्षीय गोरखबहादुर केसी र उनीहरूका ३ वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार हजुर आमा र नातिको घटनास्थलमै मृत्यु भएको थियो। घाइते गोरखबहादुरलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको आफन्तले जानकारी दिएको प्रहरी निरीक्षक सिंहले सेतोपाटीलाई बताए।
शनिबार दिउँसो सवा २ बजेतिर घर अगाडिको विद्युतको हाइटेन्सन लाइन एकाएक चुँडिएर आँगनमा खस्दा हजुर आमा, नाति र हजुर बुवाको शरीरमा परेपछि उनीहरूलाई एकैसाथ करेन्ट लागेको थियो।
‘घर बाहिरबाट आँगनमा प्रवेश गरिरहेका तीन जनामाथि एकाएक चुँडिएको विद्युतको हाइटेन्सन लाइनको तार खसेर करेन्ट लागेको रहेछ,’ प्रहरी निरीक्षक सिंहले भने, ‘त्यसले हजुर आमा र नातिको घटनास्थलमै मृत्यु भयो भने हजुर बुवाको बुटवलमा भर्खरै मृत्यु भएको खबर आएको छ।’
दाङमा शनिबार केही तीव्र बेगको हावा चलेको भए पनि त्यसको असरले भन्दा पनि प्राविधिक त्रुटिले हाइटेन्सन लाइनको तार एकाएक चुँडिन पुगी मानवीय क्षति भएको घटनास्थल पुगेका विद्युतका एक कर्मचारीले बताए।
करेन्ट लागेर मृत्यु भएकामध्ये दुई जनाको शव पोष्टमर्टमका लागि लमही अस्पतालमा लगिएको छ भने गोरखबहादुरको शव बुटवलबाट दाङतर्फ ल्याउन थालिएको छ।

उज्यालो खबर