काठमाडौं । बाग्मती प्रदेशमा हाम्रो नेपाल पार्टीले मुख्यमन्त्री दाबी गरेको छ।आइतबार बागमती प्रदेश सरकारबारे निर्णय गर्न बसेको बैठकले बागमती प्रदेशको नेतृत्वमा दाबी गर्ने निर्णय गरेको हो।‘नेतृत्व नै दाबी गर्ने निर्णय भएको छ, मन्त्री लिएर सरकारमा सहभागी नहुने हाम्रो बटमलाइन हो,’ हाम्रो नेपाल पार्टीका बाग्मती प्रदेश संसदीय दलका नेता शैलेन्द्र बज्राचार्यले भने।
संघीयता रक्षाको मुख्य जिम्मेवारी पाएका दलहरूकै नेतृत्वबाट संघीयता कमजोर बन्दै गएपछि आफूहरूले प्रदेश सरकारको नेतृत्व लिनुपर्ने निष्कर्षमा पुगेको बज्राचार्यले बताए।यो संसदमा रहेको पार्टीको अधिकारको कुरापनि रहेको उनले बताए।
‘हिजो पनि हामीले समर्थन गरेका हौं। सँधै अवमूल्यन भयो। उहाँहरूले प्रतिबद्धता पूरा गर्नुभएन । हामी सँधै हाम्रो काँध दिने पक्षमा छैनौं। त्यसकारण यसपालि हामीले प्रदेश सरकारको नेतृत्व दाबी गरेका हौं,’ उनले भने।हाम्रो नेपाल पार्टीको बागमतीमा शैलेन्द्र बज्राचार्य र सरिता खड्गी गरी दुईजना सांसद छन्।
११० सांसद रहेको बागमतीमा सरकार बनाउन ५६ सांसद चाहिन्छ ।यहाँ एमालेका २७, माओवादी केन्द्रका २१ र नेकपा एसका ७ गरी नयाँ गठबन्धनका ५५ सांसद छन्।उक्त पार्टीले शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई समर्थन दिइराखेको थियो। तर केन्द्रमा गठबन्धन फेरिएसँगै प्रदेशमा पनि समिकरण बदलिएपछि बागमतीमा सरकार गठनका लागि हाम्रो नेपाल पार्टी निर्णायक बनेको हो।
सरकारलाई समर्थन कायम राख्नका लागि मुख्यमन्त्री जम्कट्टेलले दुवै सांसदलाई मन्त्री अफर गरेका थिए।‘हामीलाई रोजेर मन्त्रालय लिनूस् भन्नुभएको थियो तर अब उहाँहरूलाई लेशन दिन भएपनि हामीले मन्त्री होइन मुख्यमन्त्री नै दाबी गरेका हौं,’ बज्राचार्यले भने।



उज्यालो खबर




