काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसलामाथि पुनरावलोकनको निवेदन लिएर उच्च अदालत पाटन पुगेका छन् । आजै निवेदन दर्ता गर्न उनी कानून व्यवसायीसहित पुगेका हुन् ।
जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्याएर ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन गर्न लागेका हुन् । पुनरावेदनको फैसला नआउञ्जेल उनी जेल बस्नुपर्ने छैन ।
दुई दिनअघि मात्रै शल्यक्रिया गराएका सन्दीप अदालत आउँदा शारीरिक रूपमा केही कमजोर देखिएका छन् । दाइ बालकृष्ण लामिछानेको हात समातेर उनी अदालतभित्र प्रवेश गरेका थिए । वकिल सरोज घिमिरेसहित उनीहरू एउटै गाडीमा अदालतसम्म आएका हुन् ।