×

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि सुरू हुँदैछ।ललितपुरको गोदावरीस्थित सनराइज हलमा दिउँसो १ बजे सभापति शेर बहादुर देउवाले महासमिति बैठकको उद्घाटन पार्टीका प्रचाार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले जानकारी दिए।

त्यसपछि सुरू हुने महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्नेछन्।

ती प्रस्तावहरूमा चारवटा समूह बनाएर छलफल हुने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए। चार समूह हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुनेगरी बनाइने उनले बताए।

महासमितिमा सहभागी भएका सदस्यमध्ये कम्तीमा ६० प्रतिशतलाई बोल्न समय दिने तय भएको छ।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरेर महासमिति सदस्य नरहेका प्रदेश सभापतिहरू, जिल्ला सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखहरू पनि आमन्त्रित सदस्यका रूपमा बैठकमा भाग लिन पाउँछन्।

महासमिति बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १६५ जना, प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार सात सय ८० जना, नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी हुनेछन्।

महासमिति सदस्यले केन्द्रीय कार्यालय सानेपामा फोटो र तीन हजार रुपैयाँ बुझाएर प्रवेश पत्र लिनुपर्नेछ। महासमिति बैठकमा उपस्थित हुनेहरूलाई कांग्रेसले खाना र खाजाको व्यवस्था गरे पनि आवासको व्यवस्थापन गरेको छैन।

कांग्रेस महासमिति बैठक नीति बनाउन केन्द्रित रहनेछ।

२०७८ मंसिरमा १४ औं महाधिवेशन गर्दा कांग्रेसले नीति अधिवेशन गरेको थिएन। नीति अधिवेशनको समेत काम गर्ने गरी अहिले महासमिति बैठक गर्न लागिएको हो। विधानअनुसार महाधिवेशन भएको वर्षबाहेक वर्षेनी महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ।

तपाईको प्रतिक्रिया