×

मुग्लिन  । सरोकारवालाले तीन वटै तहका सरकार र सञ्चारमाध्यमबीच बहस जरुरी रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति  जिल्ला कार्यालय चितवन र इच्छाकामना गाउँपालिकाद्वारा प्रजातन्त्र दिवस तथा राससको ६३औँ वार्षिकोत्सवका अवसरमा इच्छाकामनामा आयोजित ‘सङ्घीयता, स्थानीय सरकार र पत्रकारबीच अन्तरक्रिया’मा उहाँहरुले नागरिकलाई सङ्घीयताको प्रत्याभूति दिलाउन स्थानीय तह प्रदेश र केन्द्र तीनै तहका सरकार र सञ्चारमाध्यमबीच बहस तथा पैरवी आवश्यक रहेकोमा जोड दिनुभयो ।

इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सञ्चारमध्यम र पत्रकारको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । उहाँले स्थानीय सरकारले गरेका काम जनतासामु जस्ताको त्यस्तै पु¥याउनु पनि सञ्चारमाध्यमको दायित्व भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “लामो सङ्घर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्न पत्रकारको महत्वपूर्ण भूमिका रहन्छ, जनप्रतिनिधिले कस्तो काम गरेका छन् जस्ताको त्यस्तै जनतासामु समाचारमार्फत पु¥याउनु आवश्यक छ ।” उहाँले स्वच्छ आलोचनाले आफ्ना कमीकमजोरी सच्याउने मौका प्राप्त हुने बताउनुभयो ।

उहाँले ग्रामीण क्षेत्रमा भएका गतिविधिलाई उजागर गर्न पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले पर्यटकीय हिसाबले महत्वपूर्ण इच्छाकामनाका ग्रामीण क्षेत्रमा पुगेर स्थलगत रिपोर्टिङ गर्न पनि अनुरोध थियो । उहाँले भन्नुभयो, “इच्छाकामना विकट होइन, पर्यटकीयस्थल हो, यहाँबाट हिमालदेखि तराईका फाँट सहजै दृश्यावलोकन गर्न सकिन्छ, सो विषयमा तपाईंहरुले समाचारमार्फत सहयोग गर्नुपर्छ ।”

प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दीपक आचार्यले तीन तहका सरकारबीच कार्य विभाजनको अन्यौलताले नागरिकले सङ्घीयताको अनुभूत गर्न नपाएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “सङ्घीयताका विषयमा मिडिया र तीनै तहका सरकारबीच गहनरुपमा बहस पैरवी हुन आवश्यक छ ।” तीनै तहका सरकारको कार्य विभाजनमा अलमलता देखिएको भन्दै आचार्यले सङ्घीय सरकारले गर्ने काम के हो ? प्रदेश सरकारले गर्ने काम के हो र स्थानीय सरकारले गर्ने काम के हो रु भन्ने अझै निक्र्यौल हुन सकेको बताउनुभयो ।

उहाँले सबैभन्दा प्रभावकारी र पहिलो समाचारको माध्यम स्थानीय मिडिया भएकाले स्थानीय सरकारले मिडियामैत्री कानुन बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । गाउँपालिका उपाध्यक्ष माया सिलवालले इच्छाकामना भूगोलले विकट रहे पनि धार्मिक तथा पर्यटकीयस्थलले भरिपूर्णरहेको बताउनुभयो । उहाँले यहाँको प्रचारप्रसारका लागि भूमिका निर्वाह गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, प्रेस चौतारी नेपालका निर्वाचन आयोगका केन्द्रीय उपाध्यक्ष नवराज ढकाल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल , इच्छाकामना–५ का वडाध्यक्ष रुद्र उप्रेतीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

राष्ट्रिय समाचार समिति चितवनका प्रमुख नारायण अधिकारीले राससको सेवाबारे जानकारी गराउँदै सङ्घीयतामा स्थानीय तहसम्म पत्रकारलाई पु¥याउने उद्देश्यले गाउँपालिका आएर कार्यक्रम गरिएको बताउनुभयो ।रासस

तपाईको प्रतिक्रिया