चितवन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले काठमाण्डौं र भरतपुर बाहेक अन्यत्र विशेषज्ञ चिकित्सक जानै नमान्ने गरेको बताउनु भएको छ । यहाँका ६ वटा रोटरी क्लबहरुले आजदेखि भरतपुरमा शुरु गरेको कृत्रिम हातखुट्टा प्रदान गर्ने कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जोशीले प्रदेशका विभिन्न जिल्लाका लागि मन्त्रालयले विशेषज्ञ चिकित्सक माग गर्दा पाउन नसकिएको बताउनु भएको हो ।
उहाँले मन्त्रालयले विशेषज्ञ चिकित्सक माग गर्दा पाउन नसकेपछि सम्बन्धित स्थानीय तह र अस्पताललाई नै विज्ञापन गरी माग गर्ने अधिकार दिएको बताउनुभयो । उहाँले भन्नुभयो “एक हप्ता अघिदेखि मन्त्रीस्तरीय निर्णय गरेर स्थानीय तहलाई नै चिकित्सक माग गरी विज्ञापन गर्ने अधिकार दिएको छु । मन्त्रालयले सकेन ।” उहाँले अगाडि थप्नुभयो “तल्लो तहको अस्पतालमा राख्न सक्नुहुन्छ भने राख्नुहोस् भनेर अधिकार दिएको छु । जुन अस्पताल आवश्यक छ सोही अस्पतालले राख्न सक्ने गरी अधिकार दिईएको छ ।”
तल्लो तहसम्म चिकित्सकीय सेवा दिन मन्त्रालय लागिपरेको भन्दै उहाँले तर, नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “कसरी तल्लो तहसम्म विशेषज्ञ चिकित्सक पठाउन सकिन्छ भन्ने बारेमा थप छलफल भईरहेको छ । प्रोत्साहन भत्ता दिएर सकिन्छ कि भनेर नीति अवलम्बन गरिएको छ ।”
उहाँले अगाडि थप्नुभयो “काठमाण्डौंको डाक्टर काठमाण्डौंमा मात्रै बस्न चाहनु हुन्छ, भरतपुरको भरतपुरमै मात्र बस्न चाहनुहुन्छ । भरतपुरबाट माडी गईदिनुहोस् भन्दा पनि मान्नुहुन्न ।” आफूले बकुलहर रत्ननगर अस्पतालमा समेत थप सेवा दिनका लागि एक सय शैया बनाएको चर्चा गर्दै उहाँले त्यहाँ विशेषज्ञ सेवा दिनका लागि विशेषज्ञ डाक्टर गईदिन अनुरोध गरिरहेको बताउनुभयो ।
चिकित्सकीय सेवालाई सबैले सकारात्मक रुपमा सोच्नुपर्ने भन्दै उहाँले भन्नुभयो “हाम्रै छोराछोरी डाक्टर हुनुहुन्छ । सरकारले पठाएको ठाउँमा जाने, दुर्गम क्षेत्रमा गएर काम गरिदिने भए समस्या पर्ने थिएन ।” उहाँले धेरैको आग्रह काठमाण्डौं र भरतपुर मिलाईदिनु परो भन्ने मात्रै आउने गरेको बताउनुभयो । उहाँले थप्नुभयो “कसैले पनि मलाई सिन्धुली पठाईदिनुहोस्, रामेछाप पठाईदिनुहोस्, रसुवा पठाईदिनुहोस् भनेर आउनुहुन्न ।”
उहाँले मन्त्रालय साझेदार संस्थाहरुसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो । मन्त्री जोशीले भन्नुभयो “साझेदार संस्थाहरुलाई बोलाएर छलफल गरेका छौं । साझेदारहरुले गर्ने कार्यक्रममा हामी पनि सहभागी हुन्छौं । हामीले गर्ने कार्यक्रममा उहाँहरुलाई पनि सहभागी गराउँछौं ।” सरकारले सबै समस्या बुझेको बताउँदै उहाँले सरकार एक्लैले सबै समस्या समाधान गर्न नसक्ने बताउनुभयो ।
कार्यक्रममा रोटरीयन रविन्द्रकुमार पिया, सुरेन्द्र रेग्मी, रामप्रसाद शर्मा, उवासंघ चितवनका उपाध्यक्ष राजेन्द्र ओली, उद्योग संघ चितवनका उपाध्यक्ष मदन घिमिरे, चेम्बर अफ कमर्स चितवनका अध्यक्ष गोपाल भट्टराई, प्रा.डा.आईपि ढकाल, अपाङ्ग जागर अभियान चितवनका अध्यक्ष अम्बिकालाल श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम संयोजक एवं रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष अर्पणा प्रधान भण्डारीले स्वागत गर्नुभएको कार्यक्रममा रोटरी क्लब अफ वीरगञ्जका डा।साश्वत प्रसादले कृत्रिम हातखुट्टाको प्राविधिक पक्षका बारेमा प्रकाश पार्नुभएको थियो । रोटरियन विमल क्षेत्रले सञ्चालन गर्नुभएको कार्यक्रममा रोटरी ईन्टरनेशनल ३२९२ अन्तर्गत जोन ३६ का गर्भनर दिनुप बराल लगायत रोटरी क्लबका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।
रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ गैंडाकोट, रोटरी क्लब अफ पूर्वी चितवन र रोटरी क्लब अफ वीरगञ्जको आयोजनामा १४ दिनसम्म उक्त शिविर सञ्चालन हुनेछ ।
शिविरमा देशैभरबाट हात खुट्टा गुमाएका ८० जना हालसम्म सम्पर्कमा आईसक्नु भएको छ । अरु सम्पर्कमा आउने क्रम जारी रहेको छ । उनीहरुलाई शिविरमा नै हातखुट्टा तयार गरेर प्रदान गर्ने कार्यक्रम रहेको छ । दुर्घटना, विभिन्न रोग र चोटका कारण हात वा खुट्टा गुमाएकाहरुलाई कृतिम हात खुट्टा उपलब्ध गराउन लागिएको हो । शिविर सञ्चालन गर्न २५ लाख रुपैयाँभन्दा बढी खर्च हुने आयोजकको भनाई छ ।



उज्यालो खबर




