×

 

चितवन । चितवन नारायणी महोत्सवले रिकभरिङ्ग युनाइटेडलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महोत्सवको आम्दानीबाट १० लाख एक रुपैयाँ रिकभरिङ्ग युनाइटेडलाई हस्तान्तरण गरिएको हो ।

महोत्सव आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महत र महोत्सव संयोजक पिंगलराज पन्तले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत रिकभरिङ्ग युनाइटेडका अध्यक्ष रविनकुमार श्रेष्ठलाई उक्त चेक हस्तान्तरण गर्नुभयो । मंसिर ६ देखि १६ गतेसम्म नारायणी नदी किनारमा लागूऔषध प्रयोगकर्ताहरुको उपचारका लागि महोत्सव आयोजना गरिएको थियो ।

औद्योगिक शान्ति नेपालले महोत्सवको आम्दानीबाट २० जना लागूऔषध प्रयोगकर्ताहरुको उपचारका लागि सहयोग गर्ने घोषणा गरेको थियो । सोही अनुसार आज रिकभरिङ्ग युनाइटेडलाई रकम हस्तान्तरण गरिएको औद्योगिक शान्ति नेपालका अध्यक्ष महतले बताउनुभयो ।

सोही कार्यक्रममार्फत आयोजकले महोत्सवको आम्दानी र खर्च पनि सार्वजनिक गरेको छ । महोत्सवबाट ४९ लाख ६३ हजार ५०० रुपैयाँ आम्दानी भएको संयोजक पन्तले जानकारी दिनुभयो । यस्तै महोत्सवमा ३९ लाख ५८ हजार २३३ रुपैयाँ खर्च भएको पनि पन्तले बताउनुभयो ।

आम्दानी र खर्च घटाएर बचत भएको १० लाख ५ हजार २६७ रुपैयाँ मध्य १० लाख एक रुपैयाँ लागूऔषध प्रयोगकर्ताहरुको उपचारका लागि सहयोग गरिएको उहाँले बताउनुभयो । रिकभरिङ्ग युनाइटेडका अध्यक्ष श्रेष्ठले प्राप्त सहयोग रकम रिहाबका रहेका २० जनाको उपचारका लागि खर्च गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया