उद्योग बाणिज्य संघ चितवनको ५७ औं साधारणसभा तथा अधिवेशन सुरु भएकाे छ । चितवनका उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको संघको अधिवेशनलाई सबैले चासोपूर्वक हेरेका छन् । अध्यक्षमा युवा व्यवसायी सिरिष पन्त र सुमनकुमार श्रेष्ठका् उम्मेदवारी परेको छ । दुबै जनाले चुनावी प्रचारलाई तीव्र बनाएका छन् । उवासंघ चितवनको यसअघिको अधिवेशनमा प्यानलभन्दा बाहिरबाट उम्मेदवारी दिएर उपाध्यक्ष जितेका पन्तसँग हामीले उनको उम्मेदवारी र भावी योजनाका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी
तपाई तृतिय उपाध्यक्ष भएको मान्छे एकाएक अध्यक्षमा उम्मेदवारी किन दिनुभयो ?
मैंले यसअघि उपाध्यक्षमा उम्मेदवारी दिएर प्यानलभन्दा बाहिरबाट जितेको हो । म द्धितिय उपाध्यक्ष जितेर पनि तृतिय उपाध्यक्षको जिम्मेवारी निर्वाह गरे । बस्तुगत संघको संयोजकका रुपमा प्राप्त जिम्मेवारी दृढतापूर्वक पुरा गरे । कतिपय काम र योजनाहरु पूरा गर्न अध्यक्ष नै हुनुपर्ने रहेछ भन्ने ठानेर एकपटक नेतृत्व लिन खोजेको मात्रै हो ।
तपाईंको अध्यक्षमा उम्मेदवारी किन ?
अहिले आर्थिक संकट गहिरो बन्दै गएको छ । व्यवसायीहरु पलायनको खतरामा छन् । कतिपय व्यवसायीहरु पेशा छाडेर विदेश पलायन भैरहेका छन् । सरकारका विभिन्न नीति नियमका अब्ठ्याराहरु पनि छन् । बैंकले ब्याजदर मनपरी ढंगले बढाएर आक्रान्त पारेको छ । कोभिडको माहामारीबाट पीडित वनेका व्यवसायीलाई राहात दिने भन्दा पनि आहात बनाउने काम गरियो । तर,उद्योगी व्यवसायीहरु कै छाता संगठनले यसबारेमा दरिलोसँग आवाज उठाउन सकेन की, व्यवसायीहरुलाई परेका पिर मर्काको समाधान निकाल्न ठोस पहल लिन सकेन की भन्ने गुनासाहरु व्यवसायीहरुका छन् । त्यसैले विषय परिस्थितीमा नेतृत्व लिएर काम गर्ने मनसायका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । सामान्य र टालटुले कुराले हुँदैन । संघले आफ्नो भूमिका देखाउन सक्नुपर्छ ।
तपाई उपाध्यक्ष भएर के गर्नुभयो ?
विज्ञापन करको नाममा व्यवसायीलाई दुःख दिने कामलाई रोक्ने र प्रतिरोध गर्ने अभियान नै चलाए । कोभिड लगायतका विभिन्न समस्याबाट मारमा परेका व्यवसायीलाई भाडा छुट गराउन र संघले आफैंले पनि भाडा छुट दिन पहल गरे । सडकपेटी कब्जा गरेर जथाभावी वस्ने फुटपाथ व्यवसायी हटाउने अभियान सुरु गर्ने, नारायणगढ बजारमा जथाभावी र मनपरी ढंगले घर भत्काएर व्यवसायीलाई मार पार्ने काम गरिएको प्रति जोडदार ढंगले आवाज उठाएँ । घरवहाल कर व्यवसायीलाई तिर्न लगाउने कामलाई रोक्ने काम गरियो । हरेक व्यवसायीका समस्या ब्यक्तिगत ढंगले भए पनि सुन्ने, समाधानका लागि पहल गर्ने कार्य गर्नुका साथैं पार्किङ्गको समस्या समाधान लागि भित्रि बजारमा एकतर्फी पार्किङ्ग प्रणाली सुरुवात गराए ।
तपाईंका एजेण्डाहरु के के छन् ?
मेरा स्पष्ट योजना र दृष्टिकोणहरु छन् । म एक्सनमा लाग्ने मान्छे हो । कुरा गरेर हुँदैन, काम गर्नुपर्छ भन्ने मेरो धारणा हो । मैंले बनाएर धेरै एजेण्डा मध्ये मुख्य मुख्य एजेण्डामा पूर्वी र पश्चिम चितवनबाट यात्रु लिएर आउने सवारी साधनलाई निर्वाध रुपमा बजार क्षेत्रमा प्रवेश गर्ने व्यवस्था मिलाउने, बजारको अस्तव्यवस्त पार्किङ्ग र फुटपाथलाई व्यवस्थित गर्न पहल गर्ने,संघमा आवद्ध व्यवसायीहरुको सुरक्षाका लागि बीमा गराउने, चितवन महोत्सवको हिसावकिताव ३५ दिनभित्र सार्वजनिक गर्ने, स्टलहरूको बुकिङ्ग गर्दा हुने आर्थिक अनियमितता हटाउन online system बाट गर्ने व्यवस्था गर्ने, संघमा अहिलेसम्म महिला उपाध्यक्षको आरक्षण पद नभएकोले आम महिला दिदिवहिनीहरुको भावना र उहाँहरूप्रति सम्मान व्यक्त गर्दै संघको विधान संशोधन गरी महिला आरक्षणको व्यवस्था गरी संघलाई समावेशी बनाउने, घर भाडा मनोमानी ढंगले बढाउने प्रवृतिलाई नित्साहित गर्दै वैज्ञानिक भाडा प्रणाली लागु गराउन सम्वन्धित निकायमा प्रस्ताव लैजाने, संघले सञ्चालन गरेको अतिथि गृह लामो समयदेखि घाटामा चल्दै आएकोले संघलाई आर्थिक भारसमेत परेको हुँदा अतिथि गृह बन्द गरी vocational training center सञ्चालन गर्ने तथा कतिपय कोठामा कमजोर रहेका वस्तुगत संघलाई कार्यालय सञ्चालन गर्न दिने, चितवनका होटल तथा रेष्टुरेन्ट २४ सैं घण्टा चलाउन दिन पहल गर्ने, क्याम्पाचौरमा मिनि स्टेडियम बनाउन पहल गर्ने, झोलामा संघको सदस्यता बोकेर हिड्ने तर कहिल्यै पनि पेशा व्यवसाय सञ्चालन नगर्ने तथा सरकारी निकायमा तिर्नुपर्ने दायित्व नतिरेका व्यवसायीको सदस्यता छानविन गरेर हटाउने । संघलाई व्यवसायीहरुको मात्रै विशुद्ध संगठन बनाउने, नयाँ सदस्यता प्रदान गर्न तथा नविकरण डिजिटल एफमार्फत गर्ने व्यवस्था मिलाउने, युवाहरुलाई रोजगारमूलक र व्यवसायी बनाउन संघको पहलमा विभिन्न निकायसँग समन्वय गरी तालिमहरू सञ्चालन गर्ने जस्ता एजेण्डाहरू छन् ।
तपाईको जितका आधारहरु के हुन् ?
मुख्यतः मेरा एजेण्डाहरु हुन् । सिरिष पन्त काम गर्ने मान्छे हो, कुरा गर्ने मान्छे हैन । मेरो दृष्टिकोण स्पष्ट छ । प्राप्त जिम्मेवारी र भूमिका दृढतापूर्वक निर्वाह गर्ने र पुरा गर्ने मेरो स्वभाव हो । अग्रजहरुलाई सम्मान गर्ने र युवाहरुलाई प्रोत्साहन गर्ने, संघ भित्र आर्थिक सुशासन र पारदर्शीता कायम गर्ने, नेतृत्वदायी भूमिका खेल्ने काम गर्छु । जहाँ व्यवसायीलाई पिरमर्का पर्छ त्यहाँ म पुग्छु , पुग्ने गरेको पनि छु ।
सिरिषले हतारो ग¥यो, बेला भाथेन भन्ने पनि छन् नी ?
यदाकता मैैंले पनि त्यो भनेको सुन्छु । म भन्दा कान्छो उमेरमा पनि राजन गौतम संघको अध्यक्ष भैसक्नुभएको छ । म पनि ४३ बर्षको भए । संघको उपाध्यक्ष भएर काम गरिसके । अनुभव पनि लिए । त्यसैले बेला भाथेन भन्ने कुरा हैन । बेला हुनका लागि उमेर ढल्कनुपर्र्ने मापदण्ड पनि छैन । मूलतः व्यवसायीको पक्षमा हितमा काम हुन्छ की हुँदैन भन्ने कुरा हो । हामी जस्ता युवाहरु आज देश छाडेर विदेश पलायन भैरहेका छन् । तर, हामी देश भित्र नै केही गर्नुपर्छ भनेर संर्घष गरिरहेका छौं । युवाहरुका लागि केही गरौं भन्ने भावना पनि छ । यसर्थ, सबैको यसमा साथ नै रहन्छ भन्ने लाग्छ ।
जित्नेमा कतिको आशावादी हुनुहुन्छ ?
आशावादी छु । म एक्लै केही होइन । सबै व्यवसायीहरूले नै यतिको बनाउनुभएको हो । उहाँहरुले मलाई विश्वास गरेर प्रदान गर्ने मत नै जितको आधार हो । म सबैको साझा मान्छे हो । सबैलाई साथ दिने, सहयोग गर्ने मेरो विगतदेखि कै स्वभाव हो । उहाँहरुले नै विगतमा मलाई जिताउनुभएको हो । यसपटक पनि जिताउनुहुन्छ ।यसभन्दा बाहेक पनि विभिन्न सरोकारवालाहरुसँग आवश्यक छलफल, राय र सुझाव लिएर कार्ययोजना बनाएर अगाडि बढ्ने प्रतिवद्दता व्यक्त गर्दछु ।
उसो भए अध्यक्ष पदमा सिरिषलाई नै किन मत दिने ?
१. संघलाई व्यवसायीको हकहितप्रति निरन्तर लाग्ने बनाउन, अभिभावकीय भूमिका प्रदान गर्न, जवाफदेही, उत्तरदायी बनाउन ।
२. संघ भित्र सुशासन कायम गर्न तथा पारदर्शी बनाउन ।
३. युवा जोश, जाँगर, उर्जा र नयाँपन भएकोले ।



उज्यालो खबर




