×

बद्री अर्याल

चितवन ।साविकको प्रदेश नं. १ को नामकरण कोशी प्रदेश भनेर प्रदेश सभाले घोषणा गरेको ९ महिना वित्यो । कोशी प्रदेश नाम राख्ने भनेर संसदमा पेश गरिएको प्रस्तावमा ४ जना सांसदबाहेक ८२ जनाले मतदान गरेर दुईतिहाई बढि बहुमतले नामकरण गरियो । एमालेबाट मुख्यमन्त्री बनेका हिक्मत कार्की नेतृत्वको माओवादीसहितको सरकारले राखेको यो प्रस्तावमा कांग्रेस, एकीकृत समाजवादी, राप्रपासहितका सबै दलले कोशी नामका पक्षमा मतदान गरे ।

त्यसपछि कार्कीको सरकार ढलेर चारवटा सरकार बनिसके । तर, अझैं पनि कोशी प्रदेश अशान्त छ । पहिचानवादीको विल्ला भिरेका केही ब्यक्तिहरुले नामाकरणमा असहमती जनाउँदै आन्दोलन, धर्ना, अवरोध, आक्रमण जस्ता कार्य गरिरहेका छन् । सबै जसो दल मिलेर कोशी नामकरण गरे पनि कथित पहिचानवादीको आक्रमणको निशाना भने प्रमुख प्रतिपक्षी दल एमाले मात्रै हुन पुगेको छ । एमालेका कार्यक्रम बिथोल्न खोज्नेदेखि एमालेका नेतालाई लक्षित गरेर आक्रमण गर्नेसम्मका काम उनीहरुले गरेका छन् ।

सबै दल मिलेर कोशी नामाकरण गरे पनि आखिर किन उनीहरुले कांग्रेस, माओवादी र राप्रपाविरुद्ध आफ्नो आन्दोलनलाई केन्द्रित नगरी एमाले विरुद्ध मात्रै लगातार खनिरहेका छन् त भन्ने प्रश्न खडा भएको छ । उनीहरुको माग सरकार वा बहुमत पक्षधरसँग हुनुपर्ने हो की विपक्षी एमालेसँग भन्ने अर्को प्रश्न पनि सँगसँगै आउँछ । पहिचानवादीका नाममा एमाले माथि आक्रमण भैरहनुका पछाडि एमालेलाई पूर्वी प्रदेशमा कमजोर पार्ने अहिलेको सत्ता गठवन्धनहरुको सुनियोजित षडयन्त्र हो भनेर बुझन् गाह्रो छैन ।

पूर्वमा पहिचानवादी भन्ने अर्को कुनै दल वा संगठन छैन । उनीहरु सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका कार्यकर्ताहरु नै हुन् । एकाध संख्यामा नेकपा एसमा आवद्ध व्यक्ति छन् भने अन्य मंगोल नेशनल अर्गनाइजेशन, संघीय लिम्बूवान परिषद्लगायत दलमा आवद्ध व्यक्तिहरु नै आक्रमणमा संलग्न रहेका छन् । कोशी प्रदेशमा पहिचानको आन्दोलन आह्वान र नेतृत्व गर्ने जातीय संगठनहरुमध्ये अधिकांशको अध्यक्ष कांग्रेसका जिम्मेवार नेता छन् । तर, आक्रमणकारी भनेर पक्राउ पर्नेहरु भने अधिकांश माओवादी र जसपाका भेटिने गरेका छन् । कोशीमा पहिचानको आन्दोलनको नेतृत्व आदिवासी जनजाति महासंघले आफैंले गरेको छ । महासंघको अध्यक्ष ग्याल्जे शेर्पा नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । ग्याल्जे रामेछापका कांग्रेस नेता हुन् ।

पहिचानको आन्दोलनको अग्रभागमा अहिले किराँत याक्थुम चुम्लुङको ब्यानर देखिन्छ । लिम्बूहरुको छाता संगठन याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन जसपाका नेता हुन् । इलामका कांग्रेस नेता येक्तेन पहिचानको आन्दोलनमा आफैं सक्रिय सहभागी छन् । पहिचानको आन्दोलनको अग्र भागमा रहेको अर्को संगठन हो किराँत राई यायोक्खा । यो संस्था सबै राईहरुको छाता संगठन हो । यसका अध्यक्ष जीवन हाताचो राई नेपाली कांग्रेसका नेता हुन् । ओखलढुंगाका नेता राई पछिल्लो समय उदयपुरमा बस्ने गरेका छन् ।

अर्को आन्दोलनकर्ता संगठन किराँत धर्म उत्थान संघ हो । यसका अध्यक्ष डाकेन्द्रसिंह थेगिम केही समयअघिसम्म एमालेमा आबद्ध थिए । तर, उनी पछिल्लो समय एमाले छाडेर जातीय राजनीतिमा लागे पनि कुनै पार्टीमा आवद्ध भइसकेका छैनन् । पहिचानवादीहरुको अलग्गै पार्टी खोल्ने अभियानमा उनी छन् । प्रत्यक्ष रुपमा यी संस्थाले आन्दोलनको आह्वान गरे पनि यसमा राजनीतिक दलहरुमध्ये गोपाल किराँती नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कुमार लिङदेन नेतृत्वको संघीय लिम्बूवान परिषद्लगायतका दल पनि पहिचानको ढुंगा हान्नमा सक्रिय देखिन्छन् ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष एवं एमाले नेता पासाङ शेर्पा भने पहिचानका नाममा सत्ता गठबन्धनमा आवद्ध दलहरुले एमालेमाथि आक्रमण गरिरहेको आरोप लगाउँछन् । एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्षसमेत रहेका शेर्पाले अहिले भइरहेको आन्दोलन पहिचानका लागि नभएर एमालेविरुद्ध मात्र रहेको बताउँछन् ।

उनी भन्छन् ‘यि पहिचानवादी भनेका कांग्रेस माओवादी र जसपाका कार्यकर्ता हुन्, उनीहरु एमालेलाई कमजोर बनाउन पहिचानवादीको खोल ओढेर हमला गरिरहेका छन् ।’ कथित पहिचानवादीले एमालेले पश्चिम नेपालबाट थालेको सकंल्प यात्रालाई कोशी प्रदेशमा अवरोध गर्न गरेको प्रयास पूर्णतया असफल भएको छ । एमालेको अभियानलाई लक्षित गरी उनीहरुले राजमार्ग बन्द गर्ने, अवरोध गर्ने जस्ता काम गरे पनि तिनलाई पन्छाएर एमालेले सानदारपूर्वक आफ्नो अभियान सम्पन्न गर्ने चरणमा छ ।

तपाईको प्रतिक्रिया