चितवन ।खैरहनी नगरपालिकाले जेष्ठ नागरिकहरुलाई घर घरमै पुगेर निशुल्क स्वाथ्य जाँच तथा परामर्श सेवा दिने गरी बा आमा स्वास्थ्य कार्यक्रमको सुरुवात गरेको छ । खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनियाले आइतबार खैरहनी नगरपालिका वडा नं १३ कुमरोजमा आयोजित एक कार्यक्रमको माझ उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख शशी कुमार खनियाले नगरपालिकाभित्रका ७० वर्षमाथिका हरेक नागरिकको घरदैलोमा गएर कम्तीमा चार महिनाको एकपटक रक्तचाप, मधुमेह तथा नाडीको गति र अक्सिजनको मात्रा समेतको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
नगरबासी जेष्ठ नागरिकको सम्मानित र गुणस्तरीय जीवन सुनिश्चितताको लागि स्वाथ्य चेक जाँच, निशुल्क औषधी वितरण, जेष्ट नागरिक मञ्च गठन गर्ने देखि ज्येष्ठ नागरिकको लागि सुरक्षित आश्रम स्थल निर्माण गर्ने लगायतका कार्य गरिरहेको बताउनु भयो । जेष्ठ नागरिकको सम्मान भएमा मात्रै मुलुकले सम्बृद्धि हासिल गर्ने बताउँदै नगर प्रमुख खनियाले गुणस्तरीय स्वाथ्य सेवा विस्तारमा नगरपालिकाले सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्नु भयो ।

उपप्रमुख कविता उप्रेतीले ज्येष्ठ नागरिक राष्ट्रका गहना भएकाले जेष्ठ नागरिकहरुको हेरचाहमा नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटाले आधारभुत स्वाथ्य सेवाको पहुँच विस्तारमा बा आमा स्वाथ्य कार्यक्रमले योगदान गर्ने बताउँदै आगामी दिनमा यस कार्यक्रमको दायर थप विस्तार गर्दै लैजाने उल्लेख गर्नुभयो ।
कार्यक्रम अन्तर्गत ६८ वर्ष भन्दा माथि उमेर समुहका सबैको घरघरमा गएर सामान्य स्वास्थ्य परिक्षण,उच्च रक्तचाप,मधुमेह लगायतको परीक्षण गरिने र आवश्यक निशुल्क औषधिसमेत वितरण गरिने नगरपालिकाका स्वाथ्य शाखा प्रमुख भोजराज खनालले जानकारी दिनुभएको छ । उद्घाटन कार्यक्रमा वडा नं १३ का nवडा अध्यक्ष कुल प्रसाद भुसालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष लगायत स्वाथ्य कर्मी र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।



उज्यालो खबर




