
काठमाडौँ । अस्ट्रेलियन सरकार र अध्यागमन विभागले अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कसिलो नीति लागु गरेपछि यसको चपेटामा नेपाली विद्यार्थीहरू पनि पर्न थालेका छन्।
अस्ट्रेलियन सरकारले तोकेको साप्ताहिक २४ घन्टे काम र कलेजको हाजिरीमा कडाइका साथ छड्के नजर पार्न थालेपछि केही नेपाली विद्यार्थीहरू मारमा पर्न थालेका हुन्। पछिल्ला केही महिनादेखि नेपाली विद्यार्थीहरूको लागि पनि निकै कठिन भएको अस्ट्रेलियाको शैक्षिक गन्तव्यमा यो कडाइ नीतिले थप अप्ठ्यारो स्थिति सृजना गरेको छ।
अस्ट्रेलियन अध्यागमनको पछिल्लो आँकडा हेर्ने हो भने करिब ७० हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा उच्च अध्ययनमा छन्। त्यसमाथि पनि विश्वविद्यालय स्तरमा चालिस प्रतिशत र प्राविधिक (भेट) शिक्षामा ६० प्रतिशत नेपाली विद्यार्थी अध्ययनरत छन् ।
बग्रेल्ती खुलेका भेट कलेजहरूको शैक्षिक स्तर र नियमनको समस्याले पनि विद्यार्थीहरूको हेलचक्र्याइँ बढेको कारण पढाइमा भन्दा कमाइमा बढी ध्यान दिने विद्यार्थीहरू यतिखेर अस्ट्रेलियन सरकारको निगरानीमा पर्न थालेका छन्।