
चितवन । खैरहनी नगरपालिकाले आर्थिक वर्ष ०७९/८० मा सञ्चालन भएका योजना तथा कार्यक्रमहरूको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । २०८० कार्तिक १९ गते नगरपालिकाको सभाहलमा सञ्चालन भएको समीक्षा कार्यक्रममा आर्थिक वर्ष ०७९/८० मा नगरस्थित विषयगत शाखा र १३ वटै वडाबाट वार्षिक रूपमा सञ्चालन भएका आयोजना, कार्यक्रमको भौतिक र वित्तीय प्रगति, योजना तथा कार्यक्रमको कार्यान्वयनमा आएका समस्या र यसको समाधानको लागि नगरपालिकाले चालेका कदमहरूको बारेमा चर्चा गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शशी कुमार खनियाले सुशासन र कानुनको परिपालन गर्दै सबैको साथ सबैको विश्वासमा नगरवासीले अनुभूति गर्ने गरी कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो । वहाँले नगरको दिगो विकास र समृद्धिका लागी जन जीविकासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रहरू शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन र पर्यटनको विकास मार्फत रोजगार र स्वरोजगारीका अवसर सृजना गर्ने कार्यमा नगरपालिकाको सम्पूर्ण टिम सरोकारवाला सबै पक्षसँग हातेमालो गर्दै अगाडि बढ्ने उल्लेख गर्नु भयो ।
उप प्रमुख कविता उप्रेतीले आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले जनताको माग र आवश्यकताको आधारमा विकास निर्माणको कामलाई अगाडि बढाएको बताउँदै चालु आर्थिक वर्षमा समेत विगतका कमी कमजोरीहरूलाई हटाउँदै सर्व पक्षीय संलग्नतालाई ध्यानमा राख्दै आयोजना र कार्यक्रमको कार्यान्वयनलाई अगाडी बढाउने बताउनु भयो। वार्षिक समीक्षा कार्यक्रममा नगरपालिकाको सम्पूर्ण शाखा र वडा समेतबाट आर्थिक वर्ष २०७९/८० मा भएका कार्य सम्पादनबाट नगरपालिकाले प्राप्त गरेका उपलब्धिको सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटाले प्रस्तुतीकरण गर्नु भएको थियो।
समीक्षा कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी पत्रकार तथा निज क्षेत्रका प्रतिनिधिहरूको उल्लेख सहभागिता रहेको थियो । नगरप्रमुख शशी कुमार खनियाको अध्यक्षतामा सम्पन्न भएको वार्षिक समीक्षा कार्यक्रममा नगर शिक्षा अधिकारी राजु बानियाँले स्वागत मन्तव्य राख्नु भएको थियो ।