
काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ ।नेपाल र ओमानबीचको खेल बिहीबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
यसअघि नै समूह ‘ए’ मा लगातार दुई खेल जितेर सेमिफाइनल पुगिसकेका नेपाल र ओमानबीचको खेल हुँदा समूह विजेता बन्ने होड हुनेछ । दुवैले यसअघि सिंगापुर र मलेसियालाई हराउँदै एक खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए ।
पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यस्तै ओमानले मलेसियालाई ३२ रन र सिंगापुरलाई २२ रनले पराजित गरेको थियो । लगातार दुई खेल हारेका मलेसिया र सिंगापुर सेमिफाइनल होडबाट बाहिरिसकेका छन् र सान्त्वना जितका लागि खेल्दैछन् ।
यी दुई खेलसहित बिहीबार समूह चरणका बाँकी चार वटै खेल हुनेछ र त्यसपछि सेमिफाइनल पुग्ने बाँकी दुई टिम र सेमिफाइनल समिकरण पनि टुङ्गो लाग्नेछ ।