×

काठमाडौं । योगराज ढकाल (रिगल) को कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ।मंगलबार सुनुवाइ नसकिएर हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज सुनुवाइ हुनेछ। ‍

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइमा महान्यायाधिवक्ता दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए।बुधबार बाँकी सुनुवाइ हुनेछ ।

संविधान दिवसका अवसरमा गत असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैद मिनाहा गरिदिएका थिए।रिगल बाँकेकै चेतन मानन्धरको हत्यामा दोषी ठहर भइ जेल चलान भएका थिए। उनले आममाफी पाएपछि चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दिएकी थिइन्।

गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सुरू हुने भनिए पनि हेर्न नमिल्ने भएपछि मुद्दा मंगलबारका लागि सुनुवाइ तोकिएको थियो।मंगलबार निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको नेतृत्वमा बहस भएको थियो।

गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्नेको कारणसहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो ।साथै, अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेश गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्नसमेत आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया