×

चितवन – चितवन नारायणगढको नारायणी नदी किनारमा चितवन नारायणी महोत्सव हुने भएको छ । रिकभरिङ्ग युनाइटेडको मुख्य आयोजना तथा औधोगिक शान्ति नेपाल संस्थाको आयोजनामा चितवन रिकभरी जनचेतना, साँस्कृतिक , पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८० हुन लागेको हो ।

मंगलबार नारायणगढमा पत्रकार सम्मेलन गर्दै महोत्सव मंसिर ६ गते देखि १६ गतेसम्म सन्चालन हुने जानकारी गराईएको हो । महोत्सव १० दिन सम्म चल्ने छ ।लागू औषध तथा मद्यपान प्रयोगकर्ताहरुको नि : शुल्क उपचार गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको रिकभरिङ्ग युनाइटेडका अध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिए ।

महोत्सवबाट आर्थिक स्थिति कमजोर भएका ३० जना महिला तथा पुरुष लागूऔषध प्रयोगकर्ताहरुको निःशुल्क उपचारको लक्ष्य रहेको श्रेष्ठले बताए ।महोत्सवमा स्कुल तथा कलेजका विद्यार्थीहरुलाई सहभागी गराई लागू औषध विरुद्धका प्रतियोगितात्मक नाटक, कविता, वादविवाद र गायन तथा नृत्य कार्यक्रमहरु पनि हुनेछन् ।

लागूऔषध प्रयोगकर्ताहरुको नि स्शुल्क उपचार मुख्य लक्ष्य भए पनि महोत्सवले सबै क्षेत्रका उद्योगी व्यवसायीहरुको प्रवर्द्धनका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो । महोत्सवमा दुई सय ५० भन्दा बढी स्टलहरु रहने मूल समिति संयोजक महेश श्रेष्ठले जानकारी दिए ।स्टल बुकिङ खुला भइसकेको श्रेष्ठले बताए । महोत्सव परिसरमा नै सचिवालय स्थापना गरिने र त्यहीबाट इच्छुक उद्योगी व्यवसायीले स्टल बुकिङ गर्न सक्ने उनले जानकारी दिए ।

यसले घरेलु तथा साना उद्योगका उत्पादनहरुको प्रवर्द्धन तथा बजारीकरण, स्थानीय स्रोत साधन तथा मौलिक परम्परा, स्थानीय स्तरको पहिचान, स्थानीय स्तरमा उत्पादित कृषि उपजको बजारीकरण तथा प्रवर्द्धनमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ ।महोत्सवले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने सह-संयोजक पिंगलराज पन्तले बताए । भरतपुर सहित समग्र चितवनका पर्यटकीय गन्तव्यहरुको जानकारी दिनेका लागि महोत्सव परिसरमा छुट्टै डिस्प्ले बोर्ड राखिने पन्तले बताए ।

महोत्सवमा हरेक दिन सांस्कृतिक कार्यक्रम पनि हुनेछन् । ख्याती प्राप्त कलाकारहरुले हरेक दिन दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । हरेक दिन पाँच हजार गरी ५० हजार जनाले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको औद्योगिक शान्ती नेपाल सस्थाका अध्यक्ष सन्दिप महतको भनाई छ ।उक्त महोत्सले आर्थिक गतिविधि पनि चलामायन हुने उनको विस्वास छ ।

महोत्सव बिहान १० बजे देखि साझ ५ बजे सम्म सन्चालन हुने छ । महोत्सव अवलोकन गर्नका लागि प्रवेश शुल्क ७० रुपियाँ राखिएको छ । जेष्ठ नागरिक, अपाङ्ग तथा ५ बर्ष मुनिका बालबालिकाहरुलाई प्रवेश शुल्क वापतको रकम लिईने छैन ।महोत्सव सम्पन्न गर्न ५७ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवको तयारी तीव्र रुपमा अघि बढिरहेको आयोजकले जानकारी दिएको छ । रिकभरिङ्ग युनाइटेडले हालसम्म एक हजार पाँच सय जना लागूऔषध प्रयोगकर्ताहरुको निःशुल्क उपचार गरिसकेको छ ।

तपाईको प्रतिक्रिया