
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई सरकारले पेलेर जाने गरेको गुनासो गरेका छन् । उनले निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे ।आज काठमाडौंमा आयोजित आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई सधैं पेलेर अगाडि बढे अर्थतन्त्रमा झन् संकटमा जाने चेतावनी दिए ।
‘निजी क्षेत्र चलायमान नहुँदा राजश्व घटिरहेको विदितै छ । उच्च मूल्यवृद्धि छ,’ उनले भने, ‘निजी क्षेत्रमैत्री वातावरण होस् । हामीले समयमा सही नीति लिन सकेनौं र टालटुले ढंगले गयौं भने धेरै असजिलो अवस्थामा जान्छौं ।’
आफूहरुले सरकारलाई दिने सुझाव कुनै व्यक्ति विशेषको वा संस्थाको लागि नभई समग्र निजी क्षेत्रको भएको बताउँदै ढकालले तर सरकारले गर्ने व्यवहार व्यक्ति विशेषलाई पेलेर जाने खालको भएको गुनासो गरे । हामीले सरकारलाई दिने सुझाव समग्र निजी क्षेत्रको हो, कुनै व्यक्ति वा संस्थाको होइन,’ ढकालले भने, ‘तर कतिपय नियामक निकायबाट व्यक्ति विशेषलाई पेलेर डिसिजन हुने गरेको छ । यो निजी क्षेत्रका लागि दुर्भाग्यपूर्ण छ ।’
तत्काल आर्थिक सुधार आयोग वा अन्य कुनै उच्चस्तरीय संयन्त्र गठन गर्न आवश्यक रहेको उनले बताए । त्यसको अध्यक्ष प्रधानमन्त्री हुने र अन्य निजी क्षेत्रका संस्थाका प्रतिनिधि अवैतनिक सदस्यको रुपमा रहने गरी आयोग वा संयन्त्र गठन गर्न सकिने उनले सुझाव दिए । ‘यसबाट खर्च बढ्ने भएकाले आयोगका पदाधिकारीहरु अवैतनिक हुने गरी कार्यविधि निर्माण गर्न सुझाव दिन्छु,’ उनले भने ।
कार्यक्रममा अर्थविद डा.अच्युत वाग्लेले अर्थतन्त्र संकटमा छ कि छैन भनेर भाष्य निर्माण नगरेसम्म आर्थिक क्षेत्रको समस्याको उपचार नहुने बताए ।उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मुख्य सचिव डा.बैकुण्ठ अर्यालसमेत सहभागी छन् ।