
काठमाण्डौ । टाटा कम्पनीको नेक्सन इभी र अन्य गाडीहरुमा देखिएको खराबी र यसमा लगानी गर्दा हुने जोखिमका विषयमा संचारमाध्यमहरुमा समाचारहरु प्रकाशित भएपछि गाडी बुकिङ गरिसकेकाहरुले रद्द गर्न थालेका छन् ।
समाचार प्रकाशित भएपछि आफूहरुको आँखा खुलेको र बग्रेल्ती समस्याहरु देखिएको विषयमा आफूहरुले सुनेको, तर मिडियामै कुराहरु आएपछि पनि नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको तर्फबाट कुनै प्रष्टीकरण नआएको भन्दै टाटाप्रेमी गाडी प्रयोगकर्ताले नेक्सन इभी र हालै लञ्च भएको टियागो इभीको बुकिङ समेत रद्द गर्न थालेका छन् ।
समाचार प्रकाशित भएपछि धेरै प्रयोगकर्ताहरुले सामाजिक सञ्जालमा आफूहरुले समेत टाटाको गाडी प्रयोग गरेर दुःख पाएको, समस्याहरुको सही सम्बोधन नभएको र कम्पनी आएका गुनासाहरु सम्बोधन तथा समस्या समाधानमा जिम्मेवारी नदेखिएको प्रतिक्रियाहरु दिइरहेका छन् । आफूलाई पनि यस्तै समस्या भएको, आफूले पनि यस्तै सुनेको, आफ्ना साथीभाईको गुनासो पनि यस्तै रहेको भन्ने कमेन्टहरु सामाजिक सञ्जालमा बग्रेल्ती देखिएका छन् ।
सर्वसाधारणको यस्तै प्रतिक्रिया देखेर गाडी बुकिङ गरिसकेकाहरुले समेत अहिले नलिने भनेर फोन गर्न थालेका सिप्रदी ट्रेडिङस्थित एक उच्च स्रोतले जानकारी दियो । ‘बिहीबार मात्रै टाटाको इभीमा समस्या रहेछ भन्दै ५० भन्दा बढी फोन कर्पोरेट अफिसमा आयो । बुझाउँदा बुझाउँदा हामी हैरान भइसक्यौं ।’ सिप्रदीका एक कर्मचारीले नाम सार्वजनिक नगरिदिने शर्तमा भने–‘हामीले उच्च व्यवस्थापनमा यो विषयमा बोल्नुपर्ने भनेर समाचार आएको दिन नै भनेका हौं । तर उहाँहरुले सुन्नुभएन । यो त मौनम स्वीकृति लक्षणम भनेजस्तो भयो । हामी पनि कन्फ्यूजनमा छौं ।’
टाटाले हालै सम्पन्न नाडा अटो शोका क्रममा ५०० बढी टियागो इभी बुक भएको दाबी गरेको थियो । टियागो इभी बुक गरेकाहरुले समेत धमाधम बुकिङ रद्द गर्न थालेका छन् भने केही चाहिँ वेट एण्ड सीको मूडमा देखिएका छन् ।
राष्ट्रिय स्तरको विकास बैंकका एक सिनियर अफिसरले कुरा गर्दै आफूले टाटाको नेक्सन इभी लिन भनेर बुकिङ गरे पनि अब निर्णय परिवर्तन गरेको बताए । ‘यति धेरै समस्या रहेछ । इभीको मुख्य समस्या नै ब्याट्री हो । नेक्सनको समस्या धेरै समयदेखि साथीहरुले भन्दै आएको कुरा हो । जोखिम देखेर निर्णय परिवर्तन गर्ने अवस्था बन्यो ।’ ती अधिकारीले भने–‘हामी ५ जना साथीहरुले सँगै नेक्सन बुक गरेका थियौं । तर बिहीबार नै हामीले ती सबै बुकिङ क्यान्सल गर्यौं । धन्न बेलैमा समाचार आइदियो र हामी ठगिनबाट बच्यौं ।’ बिजशालाबाट