×

अनिल ढकाल

चितवन ।  कुनै बेला कार्यकर्ताले भरिने आधा शताब्दी पुरानो दुईतले रातो घर प्रजातन्त्र पुनस्र्थापनाको लडाइँका बेला कांग्रेसका कार्यकर्ता खुबै धाउने घर हो। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले यही घरबाट पञ्चायत विरोधी राजनीतिक र रणनीतिक योजना तयार गर्थे। आफ्ना घनिष्ट मित्र श्यामकृष्ण प्रधानको घर बीपी कोइरालाले आफ्नै घरजस्तो ठान्थे। कोइराला मुलुकका लागि रणनीति बनाउँथे। यो बीपीको मनपर्ने थलो हो। देश दौडाहाका क्रममा यही घरमा बसेर कार्यकर्तालार्ई प्रशिक्षण दिन्थे।

यो घरलाई कांग्रेसले बिर्सिएको छ। यो घर अहिले सुनसान छ। पार्टीको गतिविधि सञ्चालन हुने प्रधानको घरको कांग्रेसलार्ई कुनै वास्ता नभएको देखिएको छ।

श्यामकृष्ण र बीपीको मित्रता २००६ सालमा सुरु भएको हो। पञ्चायती व्यवस्थाविरुद्ध पर्चा पम्प्लेट यही घरमा छापिन्थ्यो। राजनीतिक आन्दोलनमा श्यामकृष्ण र गौरीदेवी सक्रिय रूपमा लागेका थिए। यो नेताहरूको आश्रयस्थल पनि थियो। २०६९ पुस २६ मा श्यामकृष्णको निधन भएपछि घर झन् बिरानो भएको छ। यहाँ गौरीदेवी मात्रै छन्। उनी पनि मुलुकको प्रजातन्त्रका लागि होमिएकी पात्र हुन्। ९० वर्षीया गौरीदेवीलार्ई अझै पनि घरमा वीपीको झल्को आउँछ। राति अबेर सुत्ने कोइरालालार्ई बिहानीपख चिया लिएर गएको स्मरण ताजै छ उनलार्ई।

‘वीपी रमाउने घर हो। उहाँँ आएपछि कार्यकर्ताको भिड लाग्थ्यो, बीपीलाई बसेकै कारण राज्यले निगरानी गथ्र्यो,’ गौरीदेवीले भनिन्, ‘अहिले त कोही फर्केर पनि आउँदैनन्। बाबु बस्ने कोठा यही हो, जहिले आउँदा पनि यहीँ सुत्नुहुन्थो’, ८६ वर्षीया गौरीदेवीले कोठा देखाउँदै भनिन्, ‘पूरै देश घुम्दा यहाँँजस्तो आनन्द र रमाइलो अन्त लाग्दैन भन्नुहुन्थो।’ विगत सम्झँदै उनले भनिन्, ‘जहिले आउँदा पनि यहीँ बस्ने, सुत्ने गर्नुहुन्थ्यो। बिहान उठेर कार्यकर्तासँग भेटेर मात्रै निस्कनुहुन्थ्यो।’

चितवन र आसपासका भेगमा कार्यक्रम हुँदा वीपी सबैभन्दा पहिला यहाँँ आउँथे। देशका अन्य भागको यात्रामा निस्के पनि उनी एक रात बसेर मात्रै जान्थे। कोइरालाले विश्राम गर्ने कोठा अझै उस्तै छ। बीपीले प्रयोग गर्ने टेबल, काठको एउटा पलङ र दराज छ। कोठा बाहिरको बरन्डामा बसेर बीपीले कार्यकर्तालार्ई अभिवादन गर्थे। अहिलेसम्म यो कोठामा कोही सुतेको छैन।

बीपीलार्ई कार्यकर्ताले एकछिन पनि छोड्दैनथे। मुलुकको शासन व्यवस्था र संकटको विषयमा राति अबेरसम्म कार्यकर्तासँग कुरा गरेर बस्थे। बीपीको सम्झनाले गौरीदेवी कहिलेकाहीँ भावुक पनि हुन्छिन्। ‘बीपी बाबु आएपछि कार्यकर्ताले एकछिन छोड्दैनथे, सानोतिनो आमसभा नै हुन्थ्यो।’ ‘के खाने भनेर सोध्दा जे दिन्छौं त्यही खान्छु, भनेको कहिल्यै बिर्सन्नँ। खाली कार्यकर्ताको चिन्ता गर्ने, उहाँँजस्तो त्यागी र इमानदार नेता कोही लाग्दैन’, गौरीदेवीले स्मरण सुनाइन्।

बीपी आएको खबर पाएपछि प्रहरीबाट घर घेरिन्थ्यो। प्रशासनले अवरोध गर्न खोज्थ्यो। तर, बीपीको जनलहर देखेर प्रशासन अत्तालिने गथ्र्यो। उनी सो घरबाट निस्कँदा कार्यकर्ताको उपस्थितिले जुलुस नै तयार हुन्थ्यो। त्यो लोकप्रियताले रुष्ट प्रहरी प्रशासनले भीड बिथोल्न खोज्दा झडप भएको सम्झना छ गौरीदेवीलार्ई। कोइरालाका देशभरीकै मिल्ने साथीमध्येका एक थिए श्यामकृष्ण प्रधान। बीपीसँग उनको घनिष्टता थियो। यो घर २०२६ मा निर्माण भएको हो।

बैठक बस्दा आमसभाजस्तै हुन्थ्यो। कोइराला कार्यकर्तालार्ई उत्साह दिन्थे। कार्यकर्ताले आन्दोलनका क्रममा पाएको दुःख, सांगठनिक गतिविधिबारे छलफल गर्थे। तर, उनी कहिल्यै आत्तिदैन थिए। कोइरालासँग हिँड्ने क्रममा बुवासँगै रहने श्यामकृष्णका कान्छा छोरा सुबोध प्रधान भन्छन्, ‘उहाँँ कहिल्यै आत्तिएको देखिनँ, कार्यकर्तालार्ई पनि आवेगमा नआउनू, शान्त हुनुपर्छ भन्दै सम्झाउनुभएको स्मरण छ।’ उनी तरुण दलका पूर्व केन्द्रीय सदस्य हुन्। सुरुदेखि नै प्रधान परिवार राजनीतिमा सक्रिय थियो।

वीपीसँगै गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको पनि मन पर्ने थलो हो यो घर। बीपीले गिरिजाप्रसाद कोइरालालार्ई चिनाएपछि उनी पनि नियमित जान्थे। बीपीको साथमा लागेर शेरबहादुर देउवा पनि त्यहीँ पुग्थे। पञ्चायती व्यवस्थाविरुद्ध होमिएका नेता उक्त घरमा पुगेर योजना बनाउँथे। प्रजातन्त्र पुनस्र्थापनापछि नेताहरू कम आउन थाले। केही वर्षअघि नेताहरू शेरबहादुर देउवा र प्रकाशमान सिंह पुगेका थिए। अहिले खासै कोही नजाने भएकाले गौरीदेवीको घर सुनसान छ।

सो घर नेताहरूको आश्रयस्थल भएको नेपाली कांग्रेस चितवनका पूर्वसभापति शेषथान अधिकारी बताउँछन्। ‘हाम्रा नेताहरू आएर बस्ने कार्यकर्ता भेट्ने ठाउँ हो’, उनी भन्छन्, ‘इतिहास बोकेको घर हो यो, पछिल्लोपटक सबैले वास्ता गर्न छोडे।’ श्रेष्ठ परिवार २००७ सालको क्रान्तिअघिदेखि राजनीतिमा सक्रिय थिए। बाटो अप्ठ्यारो भएकाले बन्दीपुरमा पनि बीपी कमै जान्थे। श्यामकृष्णको परिवार २०१४ मा चितवन बसाइँ सरेपछि उनको आगमन बढी भयो।

तपाईको प्रतिक्रिया