गैँडाकोट । गौवंश रक्षार्थ शनिबार चितवनको नारायणी नदी किनारमा हिन्दुधर्मावलम्बीहरूको मानवसागर उर्लिएको छ । नेपाल सन्त समाजको आयोजनामा भएको धार्मिक सभामा चितवन तथा नवलपुरका विभिन्न स्थानबाट हिन्दु धर्मावलम्बीहरूको उपस्थिति रहेको थियो । गाई हाम्री माता हुन्, हाम्रो धर्म हाम्रो देश प्राण भन्दा प्यारो छ, संविधानको पालना गर, ओम्कार परिवार एक हौं, गो वंशका हत्यारालाई कारवाही गर, वैदिक सनातन हिन्दु धर्म कायम गर लगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए ।
चितवनको लंकु, रत्नगर, देवघाटधाम र नवलपुरको कावासोती, देवचुली, गैडाकोटबाट धर्मावलम्बीहरू भजनकिर्तन सहित नारायणगढको शहिदचोक पुल्चोक हुँदै नारायणी किनार पुगेका थिए । भगवान गौतमबुद्धको प्रतिसंगै बनाइएको धार्मिक सभाको स्टेजमा बोल्दै नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले गाई रक्षार्थका साथै हिन्दु धर्मरक्षार्थ जागरुक हुनुपर्ने बेला आएको बताउनुभएको छ ।
धार्मिक संगठन र युवाको प्रतिनिधित्व गर्दै विश्वहिन्दु महासंघका प्रतिनिधि श्याम पौडेलले हिन्दु राष्ट्र निर्माणका लागि युवाहरू एकस्थानमा उभिन आग्रह गर्नुभयो ।बौद्ध धर्मका विशिष्ट अनुयायी लेखक एवं विचारक मोहन लामा रुम्बाले गाई माता तुल्य रहेको बताउनुभयो ।श्रीवैष्णव सम्प्रदायको प्रतिनिधित्व गर्दै स्वामी जगन्नाथाचार्यले नेपाली संस्कार र संस्कृतिको अन्त्यको लागि प्रोपोगाण्डा फैलाउन चाहेका भन्दै हिन्दुहरू समयमानै सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय महासचिव प्रेम थुलुङले असल संस्कार र संस्कृति हिन्दु धर्मको जग रहेको हुँदा युवाहरूमा चेतना फैलाउन आवश्यक भएको बताउनुभयो ।महेश सन्यास आश्रमका पिठाधीश स्वामी रमणानन्द गिरि र निम्बार्क दर्शनका विद्वान हरिशरण शास्त्री महाराजले गौ माता हिन्दु धर्मावलम्बीका लागि आमाको स्वरुप रहेको हुँदा आमाको रक्षार्थ सबै एकजुट हुन आवश्यक रहेको बताउनुभभयो ।


उज्यालो खबर