×

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ ढंगले सामना गर्न तयार रहन आग्रह गरेका छन्।मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले सांसदलाई जे गरे पनि हुन्छ भन्ने हिसाबबाट व्यवहार हुने गरिएकोमा असन्तुष्टि जनाए।

‘संसदलाई जुन ढंगले व्यवहार गरिएको छ, सांसदलाई जुन ढंगले व्यवहार गरिएको छ, जे गरे पनि हुन्छ भन्ने ठानिएको छ, सम्माननीय प्रधानमन्त्रीजी अब नयाँ ढंगले यी कुराहरू सामना गर्न तयार हुनुहोला, धन्यवाद,’ थापाले भने।प्रधानमन्त्रीले मसँग बहुमत छ, सांसदहरू थपडी बजाउन आएका हुन् भनेर सोच्न नहुने उनले बताए। ‘हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन,’ उनले भने।

उनले विधेयकहरूबारे अब समितिमै छलफल गरिने पनि बताए।मुलुकी फौजदारी संहिताको संशोधनमार्फत् जघन्य अपराधमा संलग्नलाई जोगाउने गरी सरकारले विधेयक ल्याएकोमा थापाले विरोध गरेका छन्।‘राजनीतिक अपराधिकरण र अपराधको राजनीतिकरणको व्यवस्था कांग्रेसलाई स्वीकार्य छैन,’ उनले भने, ‘कानूनमन्त्रीलाई आग्रह छ, २०७४ सालको नेकपा सरकारले गरेको ड्राफ्ट नबोक्नुस्।’

यस्तो गरी सरकारले विधेयक ल्याउनु भनेको सांसदलाई हेप्नु भएको थापा तर्क गर्छन्।‘यसरी ऐन ल्‍याउनु भनेको हिजो पनि आज पनि सांसदलाई हेपेको हो। किनकी संसदीय व्यवस्थामा सरकारलाई मसँग बहुमत छ, जे ल्याए पनि पारित हुन्छ भन्ने लाग्छ,’ उनले भने, ‘यो हामीलाई हेपेको हो, हामी हेपिने कि नहेपिने यसपालि देखाउनुछ।’

तपाईको प्रतिक्रिया