×

चितवन ।  चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ स्थित ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण गर्न लागिएको हो । विसं २०१४ देखिको पुरानो बाटो सञ्चालन गर्नका लागि पुल निर्माण गर्न लागिएको चितवन क्षेत्र नं ३ का सांसद विक्रम पाण्डेले जानकारी दिए । पुल निर्माणका लागि अहिले बजेटसमेत विनियोजन भएको उनले बताए ।

“अहिले सर्भेलगायतका कामका लागि बजेट विनियोजन भएको छ”, उनले भने, “अब बहुवर्षीय योजनाअन्तर्गत पुल निर्माणका लागि बजेट विनियोजन हुनेछ ।” सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले सर्भेको काम सम्पन्न गरेर डिजाइनको काम गरिरहेको सांसद पाण्डेले बताए ।

चितवन राष्ट्रिय निकुञ्जको कसराबाट रिउसम्म ११ किलोमिटर कच्ची सडक रहेको छ । पुल निर्माण भएसँगै भरतपुर र माडी जोड्ने सडकको दूरी निकुञ्जमा मात्रै तीन दशमलव नौ किलोमिटर छोटो हुने उनले बताए । नयाँ पुल निर्माण भएपछि चितवन राष्ट्रिय निकुञ्जको सुरक्षासँगै वन्यजन्तुलाई असर नपर्ने उनको भनाइ छ । पुल निर्माणसँगै निकुञ्जभित्र कालोपत्रसमेत गरिने छ । “अहिले कच्ची सडक हुँदा त्यस वरपरका बोटबिरुवा र वन्यजन्तुलाई समेत असर परेको छ”, उनले भने, “त्यसका लागि पनि यहाँ कालोपत्र गर्न जरुरी छ ।”

 

तपाईको प्रतिक्रिया