×

गैँडाकोट । म्याद नाघेको सामाग्री बिक्री गर्ने गैँडाकोटको एक पसललाई ५० हजार रुपैँया जरिवाना तिराइएको छ । गैँडाकोट वडा नं. ४ मा रहेको शिवकृपा स्टोर्स लाई म्याद नाघेका सामाग्री बिक्रि गरेको भेटिएकाले पचास हजार रुपैँया जरिवाना गरिएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालले जानकारी दिनुभयो ।

बजार अनुगमनका क्रममा उक्त पसलबाट ठुलो परिमाणमा म्याद नाघेका सामाग्री फेला परेको थियो । उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने खालका सामाग्री बिक्रिमा राखेको पाइएपछि सो पसललाई नगद जरिवाना गरिएको प्रमुख खनालको भनाइ छ ।साउन ३० गते जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वको नेतृत्वमा बजार अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा म्याद नाघेका सामाग्री जफत गरि थप कारवाहीको प्रक्रिया अघि बढाइएको थियो । सोही अनुसार पसललाई उपभोक्ता संरक्षण ऐन र नियमावलीका आधारमा रु. ५० हजार जरिवाना गरिएको कार्यालय प्रमुख खनालले बताउनुभयो ।‘अनुगमनका क्रममा धेरै सामाग्री म्याद नाघेको भेटिएको थियो, उपभोक्ताको स्वास्थ्यमा असरपार्ने खालका उपभोग्य सामाग्री बेच्नु नियम विपरित हो, त्यसैले कारवाही गरेका छौँ’ प्रमुख खनालले भन्नुभयो । शिवकृपा स्टोरका संचालकले जरिवाना बापतको रकम कार्यालयको बैंक खातामा दाखिला गरेको उहाँले बताउनुभयो ।

विभिन्न चाडपर्व नजिकिरहेको हुँदा बजारमा चामल लगायतका उपभोग्य सामाग्रीको अवस्था बुझ्ने जिल्ला प्रशासन कार्यालयले बिभिन्न समयमा अनुगमनका काम अघि बढाई राखेको जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रशासकिय अधिकृत भरत सापकोटाले बताउनुभयो । चाडपर्व नजिकिँदै जादा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि अनुगमनलाई नियमित गरिने उहाँले बताउनुभयो ।

कुनैपनि उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरि मूल्य बढाउने , म्याद नाघेका समाग्री विक्रि गर्ने जस्ता कार्य नगर्न समेत उहाँले बिक्रेतालाई अनुरोध गर्नुभयो । अनुगमनका क्रममा त्यस्तो अवस्था फेला पारे जो कोही कारवाहीको भागिदार हुने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया