×

काठमाडौं । संसद अवरोधबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल गर्दैछन् । छलफल आज दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुँदैछ ।संसदको अवरोध खुलाउने पहल अनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

गत निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय मान्यताप्राप्त पार्टी बनेका छन् ।सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

अवरोध खुलाउन प्रधानमन्त्री प्रचण्डले पहल गर्दै आएका छन् । तर दलहरुबीच सहमति नजुटेकाले आज दिउँसो १ बजे बोलाइएको संसद बैठक पनि बस्ने नबस्ने अनिश्चित छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको सुन राजश्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट नियन्त्रणमा लिएको थियो । सोही प्रकरणपछि नेकपा एमालेले १० साउनदेखि संसदमा अवरोध गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया