×

चितवन । चितवनमा गत आर्थिक बर्ष ०७८, ०७९ मा स्वाईनफ्लु रोगबाट चितवनका बंगुरपालन किसानको झण्डै सात करोडको क्षति भएको छ ।भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनको तथ्याङ्कअनुसार ११ वटा फार्मका ३ हजार ३१२ बंगुर मर्दा ६ करोड ९७ लाख ६९ हजार रूपैयाँबराबरको क्षति भएको हो ।

पशु चिकित्सक डा। रामचन्द्र आचार्यले गतबर्ष चितवनका बंगुरपालन किसानले स्वाईनफ्लु संक्रमणबाट ठूलो क्षति बेहोर्नु परेको बताए । स्वाईनफ्लुको प्रकोपबाट बंगुर मर्न थालेपछि ती खोरमा तत्कालै नयांँ पाठा राख्न नदिएको उनको भनाई छ । खोर पूर्णरुपमा निर्मलीकरण भएपश्चात मात्र बंगुरका पाठा किसानले राख्न थालेका छन ।

डा।आर्चायका अनुसार एकपटक सङ्क्रमित भइसकेको खोरमा पनि एक हजार दिनसम्म सङ्क्रमण हुन सक्ने देखिन्छ । त्यसपछि मात्रै पशुपंक्षी राख्न सकिने उनले बताए । ‘अफ्रिकन स्वाइन फिभर’ नामक सरूवा भाइरसका कारण चितवनका व्यावसायिक बंगुरपालक किसानको खोर नै रित्तिएका थिए । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरसँग तथ्याङ्कअनुसार चितवनमा २०७९ को साउन ८ गते पहिलोपटक यो रोग देखा परेको थियो ।

त्यसयता सङ्क्रमण फैलिने क्रम नरोकिएको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । विज्ञ केन्द्रकी प्राविधिक सजना राईले पछिल्लो समय गएको जेठ १० गते भरतपुर–१, ठिमुराको एउटा फार्ममा यो समस्या देखा बताईन । जहाँ ४६ वटा बंगुर मरेका थिए ।सङ्क्रमण देखिएपछि हालसम्मको तथ्याङ्क हेर्दा चितवनमा तीन हजार तीन सय १२ वटा बंगुर अफ्रिकन स्वाइन फिभर नामक सङ्क्रामक भाइरसकै कारण मरेका छन् ।

उनका अनुसार सङ्क्रमण फैलिएको फार्ममा ७५ प्रतिशतसम्म बंगुर मरेका छन् । ‘एउटा खोरमा सङ्क्रमण फैलिइसकेपछि त्यसलाई निःसङ्क्रमण बनाएर पनि तीन महिनासम्म त्यही खोर पुनः प्रयोग गर्न नमिल्ने देखिन्छ’, उनले भनिन ।

चितवनमा सबैभन्दा ठूलो क्षति किसान नरेन्द्रकुमार कन्दङ्वा लिम्बूको अफ्रिकन स्वाइन फिभरबाट एक हजार दुई सय ५० बंगुर मरेका थिए । उनको फार्ममा मात्रै करिब चार करोड रूपैयाँभन्दा बढीको आर्थिक क्षति भएको उनको भनाई छ ।

किसानको समस्याबारे सरकारले राहत उपलब्ध गराउने भएपछि जिल्लामा ११ वटै फर्मबाट आवेदन परेको थियो । ती सबै फर्मको क्षति विवरण मन्त्रालयमा पठाइसकिएको हुँदा राहत रकम पाउने प्रक्रिया सुरू भइसकेको विज्ञ केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया