चितवन । नेकपा एमालेका पूर्वी चितवनबाट प्रतिनिधीत्व गर्ने जनप्रतिनिधी तथा नेताहरुले पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारी साधनलाई नारायणगढसम्म नै जान दिन माग गरेका छन् । आज सोमवार जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै एमाले नेताहरुले पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारी साधनलाई भरतपुरको केन्द्रीय वसपार्कमा नै रोक्ने र त्यहाँबाट अटो वा म्याजिकमा बजार, अस्पताल तथा सरकारी कार्यालयमा जानुपर्ने बाध्यता रहेको भन्दैं त्यसलाई सच्चाउन माग गरेका छन् ।
पूर्वी चितवनबाट आएका जनतालाई बसपार्कमा झारेर नियतवस दुःख दिइएकोले तत्कालै नारायणगढसम्म यात्रुवाहक बसलाई जानदिनुपर्ने माग एमालेको छ । साथैं, एमालेले केन्द्रीय वसपार्कमा झरेका यात्रुलाई म्याजिक र अटोले मनपरी ढंगले ठगेको भन्दैं यो मर्का सहन पूर्वी चितवनवासी तयार नभएको चितवन क्षेत्र नं। १ का प्रदेश सांसद एवम् एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए । एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले एउटै जिल्लामा भएर पनि भरतपुर आउँदा पूर्वी चितवनवासी माथि दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार भएकोले यसलाई यथाश्रीघ छिटो सच्चाउन माग गरे।
खैरहनीबाट भरतपुर आउँदा बसमा जम्मा ५० रुपैयाँ तिनुपर्छ, बसपार्कबाट बजार आएको अटोले ३ सय लिन्छ, फेरि फर्किदा ३ सय लिन्छ, यहाँका अटो र म्याजिक पोस्ने काम गरियोु उपाध्यक्ष पाठकले भने, म्याजिकले पनि उत्तिकै दुःख दिएको छ, बालवच्चा, वृद्धवृद्धा र अशक्तहरुलाई निकै समस्या भएको छ ।नारायणगढ गोन्द्राङ सडक विस्तारका लागि बजारमा सवारी चाप परेको भन्दैं गत बर्षको मंसिरदेखि पश्चिम चितवन र पूर्वी चितवन भएर आउने सवारीलाई नारायणगढ बजार प्रवेश गर्न दिइएको छैन ।
यस्तैं, एमालेले जिल्लामा मल, बीउ र कृषि सामाग्रीको अभाव भएकोले किसानका जल्लाबल्दा समस्यामा सरकार उदासिन भएको आरोप लगाएको छ । जिल्लामा डेंगु र आँखा पाक्ने रोग फैलिएकोले यसको नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सरकारी संयन्त्र चुकेको एमालेको निष्र्कष छ । एमालेले बुझाएको ज्ञापनपत्रमा सिचाईंको अभावले साउन महिना सकिन लाग्दा पनि पश्चिम चितवनका किसानहरुले खेप रोप्न अझै नसकेकोले खगेरी सिचाईं र नारायणी लिफ्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरेको छ ।
जनताको दैनिक उपभोग्य वस्तुको मूल्य मनपरी ढंगले बढाएर जिल्लामा कालो बजारी निकै मौलाउँदै गएकोले त्यसको अनुगमन र नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयलाई एमालेले आग्रह गरेको छ । साथैं, सुकुम्वासीहरुलाई लालपूर्जा वितरण गर्ने विषयलाई सरकारले आलटाल गर्न थालेकोले भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई लालपूर्जा वितरण गर्न एमालेले ज्ञापनपत्र मार्फत सरकारसँग माग गरेको छ ।



उज्यालो खबर




