गैँडाकोट । नवलपुरको गैँडाकोटमा केन्द्रीय कार्यालय रहेको किसान बचत तथा ऋणसहकारी संस्थाले शुक्रबारदेखि एटीएम सेवा संचालनमा ल्याएको छ ।संस्थाको प्रधान कार्यालय गैँडाकोट ८ नगरपालिका कार्यालय आगाडी आएको एटीएम सेवाको शुक्रबार एक कार्यक्रमका बीच किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसे र गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।
सो अवसरमा किसान सहकारीका अध्यक्ष श्रीहरि चालिसेले सहकारीे पछिल्लो समय आधुनिक बन्ने क्रम तिब्र भएको बताउनुभयो । सहकारीले समय सापेक्ष परिवर्तन हुदै अगाडि बढनु पर्ने र वित्तीय कारोवार गर्ने सहकारीको लागि एटीएम सेवा अपरिहार्य रहेको उहाँको भनाई थियो। आफ्ना शेयर सदस्यहरुको हितलाई ध्यान दिएर सहकारीलाई आधुनिक तथा थप प्रविधि मैत्री बनाउने क्रममा एटीएम सेवा संचालनमा ल्याएको चालिसेले बताउनुभयो । ग्राहकहरुको सुविधाको लागि एटीएम सेवा चौविसैघन्टा खुल्ला रहने किसान साकोसले जनाएको छ ।
२०५२ साल असार १५ गते स्थापना भएको किसान बचत तथा ऋण सहकारी संस्थामा ८६ हजार सेयर सदस्यहरु आवद्ध रहेका छन् । नवलपुर, चितवन र तनहुँमा २६ वटा सेवाकेन्द्र मार्फत वित्तिय सेवा प्रदान गर्दै आएको किसानसँग ३ अर्व ७० करोड बराबरको पुँजी रहेको छ ।



उज्यालो खबर




